बैंकर्स सङ्घको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैंकर्स सङ्घको आग्रह


१२ माघ २०७८, बुधबार


काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ ।

सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङ्घले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटवर्क मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सङ्घले जारी गरेको सूचनामा भनिएको छ ।

यही माघ ९ गते नेपाल राष्ट्र बैङ्कले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएको छ ।

जसअनुसार मङ्गलबार राजस्व अनुसन्धान विभागले सो कारोबारमा संलग्न भएको भन्दै एकै परिवारका तीनसहित चार जनाविरुद्ध रु ३७ करोड बढी माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस