बालश्रम प्रयोग घट्दो क्रममा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालश्रम प्रयोग घट्दो क्रममा


११ माघ २०७८, मंगलबार


गण्डकी । गलैँचा र गार्मेन्ट उद्योगमा हालै गरिएको एक अनुसन्धानले बालश्रमको अवस्था घट्दो क्रममा देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम र केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीले गरेको अनुसन्धानले १८ वर्ष मुनीका बालबालिकाको प्रयोग गलैँचा उद्योगमा ६.६६ प्रतिशत र गार्मेन्ट उद्योगमा १.६३ प्रतिशतले घटाएको देखाएको हो ।

सन् १९९३ मा ५० प्रतिशत बालश्रम प्रयोग रहेको गलैँचा उद्योगमा २०२१ सम्म आइपुग्दा १८ वर्ष मुनीका बाल श्रमिकको सङ्ख्या घटेर ६.६६ प्रतिशत पुगेको अनुसन्धानदाता भण्डारीले जानकारी दिए ।

भण्डारीले २० जिल्लाका २९० गलैँचा र १८३ गार्मेन्ट उद्योगमा यो अनुसन्धान गरिएको जानकारी दिए । सामाजिक सचेतना, शिक्षाको व्यापकता आदिका कारण वर्षेनी बालश्रम घट्दो अवस्थामा पुगेको उनको ठम्याइ छ ।

उद्योगको उत्पादन क्षेत्रमा काम गर्ने आठ हजार ४८३ श्रमिकको लिङ्ग, उमेर, क्षेत्र, आम्दानी, शिक्षा, सामाजिक सुरक्षा आदि विषयमा अनुसन्धान गरिएको भण्डारीले जानकारी दिए ।

ती उद्योगमा ४.७५ प्रतिशत भारतीय, ०.०२ प्रतिशत अन्य र बाँकी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । नेपाली श्रमिक मध्येमा तामाङ, मगर, गुरुङ र शेर्पा समुदायका श्रमिकको बाहुल्यता रहेको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानबाट श्रमिकमध्येमा २० वर्षदेखि ४९ वर्षकाको सङ्ख्या ८० प्रतिशत र औसत कार्य ५२ घण्टा प्रतिहप्ता पाइएको बताउँदै उनले यो नेपालको श्रम कानुन भन्दा केही बढी देखिएको जानकारी दिए । नेपालको कानुनले प्रतिहप्ता औसत कार्य ४८ घण्टा तोकेको छ ।

गलैँचा उद्योगमा काम गर्ने पुरुषको मासिक आम्दानी रु. १५ हजार ९२३ र गार्मेन्ट उद्योगमा काम गर्नेको रु.१७ हजार ६३२ रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस