काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी


११ माघ २०७८, मंगलबार


पक्राउ

काभ्रेपलान्चोक । प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उद्धव फार्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

केही दिनको निगरानीपश्चात् गत आइतबार पक्राउ गरिएको सापकोटालाई हिजो (सोमबार) बरामद गरिएको ठुलो परिमाणको प्रतिबन्धित औषधिसहित थप अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौँ पठाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार सापकोटाको फार्मेसीबाट ९०३ ट्याब्लेट प्रेगाब्लिन क्याप्सुल र सोही फरक प्रकारको २०० ट्याब्लेट, तीन हजार ८९ अन्टिकोफ ट्याब्लेट, एक हजार १९० डाइसीक्लोमिन ट्याब्लेट, डाइसीक्लोमिन हाइड्रोक्लोरिड एक हजार २११ ट्याब्लेट, प्रोमेटाजिइन हाइड्रोक्लोरिड २४० ट्याब्लेट, प्रेगाब्लिन एन्ड मेथेलकोबालामिन क्याप्सुल १०० ट्याब्लेट र कोफट्याबलेट २०५ ट्याब्लेट बरामद गरिएको हो ।

यसअघि प्रहरीले २०७६ फागुन दोस्रो साता पनौती नपा–६ स्थित एक घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाई बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । काभ्रेपलान्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ ।

गत भदौ तेस्रो साता झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक सवारीसाधन बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, सोही वडाका १९ वर्षका रोहितकुमार यादवलाई पक्राउ गरी ठुलो परिमाणमा लागुऔषध बरामद गरेको हो । त्यति बेला अनुसन्धानबाट पक्रिएका दुईले सर्लाहीको हरिवन नगरपालिका–१० का २३ वर्षीय विशाल श्रेष्ठलाई बिक्री गर्न ल्याएको खुलेको प्रनाउ खतिवडाले बताए ।

उनका अनुसार श्रेष्ठलाई भने काभ्रेपलान्चोककै बनेपा नपा–७ बाट पक्राउ गरिएको थियो । प्रहरीले बेलाबेलामा यससम्बन्धी जाँचका क्रममा प्रतिबन्धित लागुऔषध तस्करीलाई पक्राउ गरेको घटना क्रमले देखाएको छ । २०७७ साल माघ दोस्रो साता ठुलो परिमाणमा प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुईलाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गरेको थियो ।

काभ्रेपलान्चोककै चौंरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षका अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्रेको हो ।

विसं २०७६ माघ विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खान्तलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ का एक युवा र भारतको कानपुरस्थित यूपीका एक युवालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकिकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्‍यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ५१४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का एक र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय एक युवालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

त्यसअघि प्रहरीले अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का एक र मोरङको सुनबर्सी नपा–६ घर भएका एक पुरुषलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गरेको थियो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनगालका एक युवा, महोत्तरीको लक्ष्मीनियाँ गाउँपालिका–३ का एक युवा र एक पुरुषलाई सातपत्ता नाईट्राभेट–१० सहित पक्राउ गरेको थियो ।

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै चेकजाँच गरी लागुऔषध बरामद तथा ओसारपसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलान्चोक बनाएको देखिन्छ ।

लामो समयपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोबार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दामा ६६ जना पक्राउ परेका छन् ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनायो ।

Tags :
प्रतिक्रिया दिनुहोस