ज्वरोको बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ज्वरोको बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव


१० माघ २०७८, सोमबार


भक्तपुर । भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ ।

भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताइन् । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताइन् ।

उनले भनिन्, ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्‍यौँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उनले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिइन् ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा भने सिटामोलको अभाव नभएको बताइन् । उनले भनिन्, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार ५०० सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’

ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उनले भक्तपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताइन् । त्यसमध्येमा २५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उनले ज्वरोको बिरामी भने निकै बढेको बताइन्।

कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ ।अस्पतालमा रहेको ६ शय्याको आइसियु कोरोनाका बिरामीले भरिएको र आइसियु नचाहिने कोरोनाका बिरामीको चाप पनि बढेको छ ।

मेसु डा. गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा आइतबार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस