जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यकबाहेकका सेवा बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यकबाहेकका सेवा बन्द


१० माघ २०७८, सोमबार


गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

प्रशासनले आज (सोमबार) सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु सङ्क्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

कार्यालयमा सेवाग्राहीहरुको भिडभाड उच्च रहेको र कोभिड-१९ को सङ्क्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाइ छ।

प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण देखिएको प्रजिअ पौडेलले बताए । प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्राहीको चाप बढ्दै गएको छ।

नागरिकता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भिडभाड उत्तिकै हुँदै आएको छ । प्रशासनमा सङ्क्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ ।

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले यसपूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध समेत गरिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमण दर दिनानुदिन दिन बढ्दै गएको छ। हाल जिल्लामा २८८ जना सक्रिय सङ्क्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस