जिपी उपचार केन्द्रमा २५ थान एचडियु शय्या जडान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

जिपी उपचार केन्द्रमा २५ थान एचडियु शय्या जडान


१० माघ २०७८, सोमबार


तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अत्याधुनिक एचडियु (हाई डिपेन्डेन्सी युनिट) शय्या जडान गरिएको छ ।

केन्द्रमा उपचारका लागि आउने गम्भीर बिरामीहरुका लागि सहज र आरामदायी शय्या उपलव्ध गराउने उद्देश्यले मनिटरसहितको उक्त शय्या राखिएको हो ।

नेपाल सरकारको आर्थिक सहयोगमा पच्चीस वटा शय्याका लागि रु एक करोड २३ लाख बजेट विनियोजन गरिएको सो केन्द्रले जनाएको छ । कुल बजेट रु दुई करोड १२ लाख भए पनि टेन्डरमा घटेर उक्त बजेटमा शय्या खरिद गरिएको केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिए ।

त्यसै गरी, अस्पतालमा १० वटा आइसियु शय्या लागि रु दुई करोड ७४ लाख खर्च भएको उनले बताए । कोरोनाको सङ्ख्या बढ्दै गए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या न्यून रहेको आइसियु कक्षमा पनि बिरामीको सङ्ख्या शून्य रहेको सो अस्पतालले जनाएको छ ।

उक्त केन्द्रमा सामान्य शय्यासहित एक क्षमताको शय्या सङ्ख्या रहेको प्रशासन शाखाप्रमुख प्रदीप पौडेलले जानकारी दिए । अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । जसमा निमोनिया, मधुमेह, रक्तचाप, रुघाखोकी, भाइरल ज्वरोका बिरामी अत्यधिक मात्रामा रहेका छन् ।

अस्पतालले सेवासुविधामा सुधार गर्दै अघि बढेपछि तनहुँ जिल्लासँगै छिमेकी जिल्ला स्याङ्जा, कास्की, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट मानिसहरु उपचारका लागि आउने गरेका छन् ।

त्यसै गरी अक्सिजन प्लान्ट जडान गर्दा रु दुई करोड १८ लाख खर्च भएको छ । उक्त प्लान्टबाट दैनिक १०० सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिडले आक्रान्त बनाएको समयमा दैनिक २० वटा सिलिन्डर खपत हुँदा पोखराबाट ल्याउनुपर्ने बाध्यता रहेकामा अक्सिजन प्लान्ट जडानपछि उक्त समस्या हटेको छ ।

अस्पतालले हाल १५ देखि २० वटा सिलिन्डर ग्यास उत्पादन गरी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस