अकलालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अकलालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री पोखरेल


९ माघ २०७८, आइतबार


दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेश धार्मिक पर्यटनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अकलालाई गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले यस ठाउँको विकासका लागि गाउँपालिका पनि लागिपरेको र प्रदेश सरकारले साथ दिनुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाली काँग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेलगायतको सहभागिता थियो ।

विसं २०७६ पुस अन्तिम साता मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरको शैलीमा मन्दिरको पुनःनिर्माण गरिएको हो । समितिको आन्तरिक कोषबाट ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ ।

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० लाख र म्याग्दे गाउँपालिकाको आठ लाख सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको छ ।

अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ । विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस