ललितपुरमा बुस्टर डोज आजबाटै सुरु, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुरमा बुस्टर डोज आजबाटै सुरु, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै


२ माघ २०७८, आइतबार


काठमाडौँ । ललितपुर जिल्लामा आज (आइतबार)बाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौँ जिल्लामा भने भोलि (सोमबार)बाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।

यस्तै, काठमाडौँबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरे पनि केही प्राविधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । हामीले खोप कहाँ/कहाँ कति मात्रा पठाउने लगायतका विभिन्न प्राविधिक विषयमा अन्तिम तयारी गरिरहेका छौँ । भोलिबाट बुस्टर लगाउन सुरु गर्छौँ, घिमिरेले भने ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । मिजारका अनुसार भक्तपुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस