कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै: जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै: जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु


२ माघ २०७८, आइतबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उनले बताए ।

प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा. श्रेष्ठले बताए । ‘अहिले जति आवश्यक हुन्छ, त्यति मात्रै अक्सिजन उत्पादन भइरहेको छ’, उनले भने । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो ।

‘त्यस बेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ’, उनले भने । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पुर्याउने डा. श्रेष्ठले बताए ।

तनहुँका स्थानीय तहले संयुक्तरुपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण गरिदिएका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेसन लामो समयदेखि खाली छ ।

तीस शय्याको आइसोलेसनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ । आइसोलेसनमा पहिलो चरणमा २७७ र दोस्रो चरणमा २२२ सङ्क्रमितले सेवा लिएको बताइएको छ ।

कोरोना सङ्क्रमित बढे

जिल्लामा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ ।

भानुमा पाँच, व्यासमा नौ, शुक्लागण्डकीमा पाँच, भिमादमा तीन, म्याग्देमा तीन, ऋषिङमा दुई, बन्दीपुरमा चार र आँबुखैरेनीमा १५ सक्रिय सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । घिरिङ र देवघाटमा भने सक्रिय सङ्क्रमित नरहेको उनले बताए ।

तनहुँमा हालसम्म पाँच हजार ४२७ जनामा कोरोना भएकामा पाँच हजार २५१ निको भएका छन् भने १३० को मृत्यु भएको छ ।

६८ प्रतिशतले लगाए पूरा खोप

तनहुँमा १८ वर्ष उमेरभन्दा माथिका ६८.६ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका छन् । कार्यालयका अनुसार १८ वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ ले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका छन् ।

त्यस्तै जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका ८०.७ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । कूल ३९ हजार ४३४ बालबालिकामध्ये ३१ हजार ८१२ ले यो खोप लगाएका हुन् ।

कार्यालयका अनुसार कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिमध्ये भानुका २१ हजार ७५५, व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका छ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका छ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ ले पूरा खोप लगाएका छन् ।

यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।

भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस