नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैङ्क « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैङ्क


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । अन्ततः नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गर्ने भएको छ । हिजो (बिहीबार) प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार नेपाल बङ्गलादेश बैङ्कको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैङ्कका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा बिहीबार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैङ्कका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बङ्गलादेशको आइएफआइसी बैङ्कको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन । सो बैङ्कको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी आज शुक्रबार नेपाल राष्ट्र बैङ्कलाई गराउने तयारी गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैङ्कको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैङ्क प्राप्ति गर्न लागेको हो । यसअघि ग्लोबल आइएमई बैङ्कले जनता बैङ्कलाई प्राप्ति गरेको थियो ।

वित्तीय स्थिरताका लागि बैङ्क तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैङ्कले लगातार अगाडि बढाइरहेको छ । सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । पूर्व गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैङ्क एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो ।

प्राप्त जानकारीअनुसार दुई बैङ्क एकआपसमा गाभिएपछि बैङ्कको कुल चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड बराबर पुग्नेछ । हाल नबिल बैङ्कको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बङ्गलादेश बैङ्कको रु नौ अर्ब चार करोड छ ।

गत आवको नाफाबाट नबिलले ३३।६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैङ्कले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैङ्कको चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड पुग्नेछ ।

प्राप्तिपछि नबिल बैङ्कको निक्षेप रु तीन खर्ब नौ अर्ब बराबर पुग्नेछ भने कर्जा रु दुई खर्ब ८८ अर्ब पुग्नेछ । हाल नबिल बैङ्कको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन् ।

यस्तै नेपाल बङ्गलादेश बैङ्कको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैङ्कको नाम नबिल बैङ्क नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । यस्तै हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कबिच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस