काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय मातहतका केही उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मंगलबार स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्
जसअनुसार स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड-१९ युनिफाइड(वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । नयाँ सङ्गठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औँ तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।
यस्तै औषधि व्यवस्था विभागका नारायण ढकाललाई औषधि प्रयोगशालामा पठाएर त्यहाँको महानिर्देशकमा भरत भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने एचआइभी एड्स नियन्त्रण केन्द्रमा डा. सञ्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा. श्रीराम तिवारीलाई दिइएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।