पोखरामा आजदेखि जलपन्छी गणना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरामा आजदेखि जलपन्छी गणना


२७ पुस २०७८, मंगलबार


पोखरा । पोखरामा जलपन्छीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपन्छी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुई दिनसम्म गणना गरिने भएको हो ।

सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपन्छी गणना गरी अभिलेख राखिँदै आइएको छ । प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणनामा स्वयंसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए ।

उनका अनुसार सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपन्छीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।

यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीमा जलपन्छीहरूको गणना भइरहेको छ ।

होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरामा सुरु गरिएको पानी चरा गणनामा पथप्रदर्शकहरु, नेपाल पक्षी संरक्षण सङ्घ–पोखरा र पोखरा पक्षी समाजको संलग्नता रही आएको छ ।

पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपन्छी गणना गरिने प्रकृति संरक्षणविद् झलक चौधरीले जानकारी दिए ।

हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको अध्यक्ष घिमिरेको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस