केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने


२१ पुस २०७८, बुधबार


काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ ।

जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो ।

प्रश्नावली किताबको आवरणमा घर, परिवार, अक्सर बसोबास गर्ने महिला र पुरुष, विदेशमा रहेका महिला र पुरुषको संख्या समेटिएका छन् ।

विभागका उपमहानिर्देशक रेग्मीले प्रारम्भिक नतिजामा देशभरिको कुल जनसंख्या, हिमाल, पहाड, तराई, प्रदेश, जिल्ला र वडा तहसम्मको जनसंख्या सार्वजनिक गरिने जनाएका छन् ।

‘प्रारम्भिकका निम्ति तीन चरणको काम भइसकेको छ‚’ केही जिल्लाको मात्र लगत केलाउन बाँकी रहेको उल्लेख गर्दै उपमहानिर्देशक रेग्मीले भने‚ ‘यथासम्भव चाँडो पुस्तकका रूपमा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।’

प्रश्नावली किताबको आवरणमा उल्लेखित विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशन गरिने भएकाले अन्तिम नतिजामा केही फरक पर्न सक्ने समेत रेग्मीले जनाए । ‘

‘पहिले पुस्तक प्रकाशन गर्ने कि प्रारम्भिक नतिजा सार्वजनिक गरेर पुस्तक प्रकाशन गर्ने भन्ने निर्णय गर्न बाँकी छ‚’ उनले भने । विस्तृत नतिजा प्रकाशन कार्य भने एकदेखि दुई वर्षभित्र सम्पन्न हुनेछ ।

यसै गरी विभागले जनगणना लगत प्रशोधन कार्यका लागि जनशक्तिको माग गरेको छ । उसले २०७९ असार मसान्तका लागि सय जना ‘कोडर र एडिटर’ र तीन सय जना ‘डेटा इन्ट्री अपरेटर’ गरी दुई किसिमको जनशक्तिको माग गरेको हो । यसअघि सुपरिवेक्षकजस्तै न्यूनतम स्नातक हासिल गरेकाले ‘कोडर र एडिटर’का लागि दरखास्त दिन पाउनेछन् ।

उनीहरूले जनगणनामा लिएको लगत फारामलाई सङ्केत नम्बर दिई प्रशोधन कार्य हुनेछ । त्यस्तै कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण तथा तालिम प्राप्तले ‘डेटा एन्ट्री अपरेटर’मा आवेदन दिन पाउने विभागले जनाएको छ ।

देशभरिबाट सङ्कलित जनगणना फाराम कुपण्डोलस्थित गोदाममा राखिएका छन् । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीन तले भवनलाई ‘डेटा सेन्टर’का रूपमा व्यवस्थापन गरिएको उपमहानिर्देशक हेमराज रेग्मीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस