फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित


२१ पुस २०७८, बुधबार


पेरिस । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठुलो संख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन् । युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

मंगलबार त्यसको पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रिस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्व सन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।

साथै मंगलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियुमा भर्ना भएका बताइएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताएका थिए ।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका सङ्क्रमतिहरु बढेका बताइएको छ । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका बिरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् ।

फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर सङ्क्रमितहरु भने बढेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस