धरान । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘नेपाली काँग्रेसका कार्यकर्ताहरु एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब काँग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’
यस लगत्तै प्रम देउवाले धरान सहरको १२१औँ वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए ।