दाङमा पच्चीस हजार ५०० मतदाता थपिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दाङमा पच्चीस हजार ५०० मतदाता थपिए


१९ पुस २०७८, सोमबार


देउखुरी । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतदाता थपिएका छन् ।

पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिए ।

पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए ।

घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।

बसाइसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिए । उनका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ ।

विशेष अभियान सुरु हुनुपूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुगेको छ ।

नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराइले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस