सञ्चारमन्त्रीद्वारा ३१ प्रकारका टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सञ्चारमन्त्रीद्वारा ३१ प्रकारका टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान


१४ पुस २०७८, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका प्राकृतिक, जैविक, सामाजिक र सांस्कृतिक सम्पदाका विषयसँग सम्बन्धित ३१ प्रकारका विभिन्न तस्बिर अङ्कित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन् । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले पनि टिकटमा टाँचा प्रदान गरे।

फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले नेपालका विभिन्न हिमाल र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो । हुलाक सेवा विभागद्वारा यहाँ आयोजित सन् २०२१ को हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमका अवसरमा सञ्चारमन्त्री कार्कीले प्राकृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्न र नेपालको पहिचान कायम गर्न प्रकाशित टिकट प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । दिगो विकास लक्ष्यमा अङ्कित १७ वटा, विभिन्न हिमालका आठ र विभिन्न पद मार्गसम्बन्धी चारवटा टिकटमा टाँचा प्रदान गरिएको हो ।

सरकारका प्रवक्ता कार्कीले भने, “यो मुलुकलाई प्रकृतिले जति सम्पदा दिएको छ, त्यसलाई विश्वमा प्रचारप्रसार गरेर देशलाई दिगो शान्ति, सुशासन र विकास गरेर समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्दछ, र हाम्रा सबै गतिविधि त्यसैमा केन्द्रित हुनुपर्छ ।” उनले नेपाल विविधताले भरिएको, विभिन्न भाषा, संस्कृति, रीतिरिवाज रहेको र तिनीहरू हाम्रो ठूलो शक्ति हो भनिन् । ‘देशलाई एकताबद्ध गर्न टिकट प्रकाशन गरेर सन्देश दिन खोजेका छौँ र दिइरहेका छौँ । एकताबद्ध भएर समृद्धितर्फ केन्द्रित हुनु छ, त्यस दिशामा अगाडि बढाउनका लागि हाम्रा काम कारबाही निर्देशित भएका छन्’, उनले भने ।

संयुक्त राष्ट्र सङ्घले लिएको दिगो विकास लक्ष्यलाई सहयोगका निम्ति पनि महिला आर्टिष्टले तयार गरेको हस्त निर्मित मिथिला आर्टलाई टिकटको रुपमा प्रकाशन गरिएको उनले बताए । राष्ट्र सङ्घले लिएको दिगो विकास लक्ष्यमा सक्रिय सहभागिता गराउनका लागि टिकट प्रकाशनमा ल्याएको उनको भनाइ छ । मन्त्री कार्कीले सुन्दर पर्यटकीयस्थलका रूपमा परिचित कास्कीको घान्द्रुक र नेपालका हिमालयलाई चित्रित गरेर टिकट प्रकाशले देशलाई समृद्धिको बाटोमा अग्रसर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सञ्चार मन्त्रायलका सचिव डा अर्यालले दिगो विकास लक्ष्यलाई नेपालको संस्कृति, मौलिक कलासँग आबद्ध गर्नका लागि पनि दिगो विकास लक्ष्यका १७ वटा उद्देश्य अङ्गीकृत हुलाक टिकट प्रकाशन गरिएको बताए । हुलाक टिकट प्रकाशनले बिगो विकास लक्ष्यलाई प्रदेश र स्थानीय तह हुँदै स्थानीयकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हुलाक टिकट प्रकाशनले समग्रमा हाम्रो संस्कृति, प्रतिबद्धता, स्थानीय तहसम्म पुग्न सक्ने माध्यमलाई योगदान गर्दछ भन्ने मेरो विश्वास छ ।’ उनले आगामी दिनमा पनि मौलिक संस्कृति, कला र प्राकृतिक सौन्दर्यतालाई अझ बढी उजागर गर्ने गरी हुलाक टिकट प्रकाशन गर्दै जाने विश्वास दिलाए ।

Tags :
प्रतिक्रिया दिनुहोस