नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने


१४ पुस २०७८, बुधबार


काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ। नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि सम्झौता भएको हो।

केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी अनुसन्धान गरिने छ। नमोबुद्धका नगर प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा विद्यावारिधिका कार्यक्रमका लागि केन्द्रलाई विकास गरिने सम्झौतापत्रमा उल्लेख छ।

अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी तोकिएअनुसार कार्य सञ्चालनपश्चात सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य, अनुसन्धानलगायतका क्षेत्रमा स्थानीयवासीलाई समेत सहभागी गराउने विषयमा समझदारी भएको छ।

यस्तै केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने तथा रोजगारीमा स्थानीयवासीलाई प्राथमिकता दिइने समझदारी भएको तिमल्सिनाले बताए।

अस्पतालका कार्यकारी निर्देशक माकजूले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिकालाई धन्यवाद दिए।

करिब अढाई दशकअघि सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवातर्फ मुलुककै अब्बल संस्था बनेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस