काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनमा आज (मंगलबार) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै छ ।
यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको छ । प्रदेश अनुसार विभाजन गरिएका यी समूहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ ।
माओवादी महाधिवेशनको दोस्रो दिन हिजो (सोमबार) दाहालले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।
यस्तै, वैचारिक अस्पष्टता हुँदा नेपालमा कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको दाहालको ठम्याई छ । दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्विकार्दै आत्मसमीक्षा गरेका छन् ।
पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उनले पहिलो गल्ती ठानेका छन् । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्ड पथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याएका छन् ।