मुस्ताङमा कालोपत्र : म्याग्दीको काम सुस्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुस्ताङमा कालोपत्र : म्याग्दीको काम सुस्त


१२ पुस २०७८, सोमबार


बेनी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्र र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् ।

मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकांश कालोपत्र गरिएको छ । यो खण्डको सडक कालोपत्रका लागि शर्मा गजुरमुखी जेभीसँग रु ५४ करोड ३० लाखमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर ग्राभेल सडकलाईसमेत कालोपत्रका लागि ठेक्का सम्झौता भइसकेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ ।

बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक जम्मा ६५ प्रतिशत प्रगति हुँदा जोमसोमदेखि–कोरलासम्मको ११० किलोमिटर लामो सडकखण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

बेनी–जोमसोम खण्डका चार वटा प्याकेजमध्ये मुस्ताङमा पर्ने कैकुखोलादेखि खन्तीसम्मको प्रगति सन्तोषजनक छ । खन्तीदेखि जोमसोमसम्मको सडकको जिम्मा लिएको कोसी पप्पु गौरीपार्वती एन्ड न्यौपाने जेभिलाई काम सक्न ताकेता गरिएको आयोजनाले जनाएको छ ।

यस खण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा पर्ने सडकको काम कुनै पनि सन्तोषजनक छैन । आगामी चैतसम्म म्याद थप भए पनि यस खण्डमा निर्माण कम्पनीले उल्लेख्य मात्रामा जनशक्ति र मेसिन उपकरण परिचालन गर्न सकेका छैनन् ।

म्याग्दीको गलेश्वरदेखि मुस्ताङका्े जोमसोमसम्मको ७५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । ‘म्याग्दी खण्डमा काम गर्न निकै चुनौतीपूर्ण भयो, रुप्सेखोलादेखि लेतेसम्म, गलेश्वर, बेगखोला, तातोपानीलगायतका क्षेत्रमा बाढीपहिरो र नदी कटानले निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पारेको छ, निर्माण कम्पनीको ढिलासुस्ती पनि समयमै काम नहुनुको मुख्य कारण हुन्’, आयोजना प्रमुख प्रजापतिले भने ।

हिउँद याममा समेत म्याग्दी खण्डको काममा पर्याप्त मजदुर र मेसिन उपकरण कार्यक्षेत्रमा परिचालन हुन सकेको छैन । गलेश्वरदेखि– नारच्याङ पुलसम्मको २० किलोमिटर सडकको जिम्मा लिएको शर्मा युनाइटेड जेभिले ६५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । उसले गरेको यो प्रगतिमा गत वर्षातमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । तर अहिले पनि कम्पनीले कामलाई तीव्रता दिन सकेको छैन ।

नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले अहिलेसम्म ६० प्रतिशत काम गरेको छ । यस खण्डमा पर्ने अक्करे पहाड ‘काभ्रेभिर’मा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा अहिले पूर्ण रुपमा काम बन्द छ ।

विसं २०७४ जेठमा ६३ करोड ५२ लाखमा २०७६ मङ्सिरमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको यस कम्पनीको म्याद आगामी चैतसम्म थप भएको छ । काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तारका लागि सब कन्ट्र्याक्टर कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी गरिएको शर्मा गजुरमुखीका प्रतिनिधि नरेन्द्र न्यौपानेले जानकारी दिए ।

‘‘तत्काल मेसिन साइटमा पठाएको छौ, काभ्रेभिरमा चार महिनामा काम सक्ने गरी साइट कन्ट्र्याक कम्पनीसँग सम्झौता गरेका छौँ, अन्य कामलाई चैतसम्म सम्पन्न गर्ने हाम्रो जोडबल छ”, उनले भने ।

गलेश्वरदेखि नारच्याङपुलसम्मको सडकमा समेत न्यून जनशक्ति परिचालन भएका छन् । तातोपानी र बेगखोला क्षेत्रमा थोरै जनशक्ति र मेसिन परिचालन गरेर काम सुरु भए पनि हिउँद याममा हुनुपर्ने तयारीका साथ निर्माण कम्पनीले काम अघि बढाएको छैन ।

म्याग्दी खण्डको काममा भएको ढिलासुस्तीबारे पटकपटक आयोजना र निर्माण कम्पनीलाई ताकेता गरिए पनि उल्लेख्य मात्रामा कामलाई तीव्रता दिन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।

बेनीदेखि जोमसोम खण्डको काम सम्पन्न नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लावासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकले समेत सास्ती व्यहोर्दै आएका छन् । जोमसोमको पुथा एयरपोर्ट गाउँका पूर्व गाउँमुखीया रहेका शेरबहादुर गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजना समयमै सम्पन्न नहुँदा बर्खायाममा सास्ती व्यहोर्नुपरेको गुनासो गरे ।

‘मुस्ताङी जनताले मात्रै होइन यस क्षेत्रको भ्रमणमा आउने पर्यटक र मुक्तिनाथको दर्शन गर्न आउने हजारौँ भक्तजनले सास्ती व्यहोर्नुपरेको छ, निर्माण व्यवसायी कम्पनीलाई आयोजना र नेपाल सरकारलेसमेत आवश्यक ताकेता गरेर कामलाई गति दिनतर्फ ध्यान दिनुपर्ने देखिएको छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस