माओवादी महाधिवेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी महाधिवेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ ।

पहिलो पटक दलित समुदायलार्ई थप अधिकार (विशेषाधिकार)को व्यवस्थासहित पार्टी संरचनामा प्रतिनिधित्व बढाउने सवाललाई जोड दिइएको छ ।

करिब १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायबाट केन्द्रीय समितिमै पहिलो पटक १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेर विशेषाधिकारको अभ्यास सुरु गरेको नेता परशुराम रम्तेलले जानकारी दिए ।

उनका अनुसार १५ सदस्यीय पदाधिकारी पनि पूर्ण रुपमा समावेशी हुने छ । कूल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५, युवा २०, दलित १५ र मुस्लिमको पाँच प्रतिशत प्रतिनिधित्व हुनेछ ।

माओवादीले प्रदेश र स्थानीय तहमा पनि दलितका लागि १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको छ । १३ प्रतिशत दलितलाई दुई प्रतिशत थप गरेर विशेषाधिकारको व्यवस्था गरिएको हो ।

नेता रम्तेलले भने, ‘राज्यका केही संरचनामा समावेशी सहभागिताको निम्ति आरक्षणको व्यवस्था गरिएको छ, राजनीतिक पार्टी पनि समावेशी बन्दै गएका छन्, तर विशेषाधिकारको अभ्यास माओवादी नै पहिलो पटक गर्दै छ ।’ आजदेखि काठमाडौँमा हुने सो पार्टीको महाधिवेशनबाट विधान पारित भएसँगै केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जनाको प्रतिनिधित्व हुनेछ ।

सोमा महिला १३, युवा महिला तीन, युवा पुरुष छ र खुला २३ हुनेछन् । हालको १७९ सदस्यीय केन्द्रीय समितिमा सात दलितको प्रतिनिधित्व छ । त्यस्तै मुस्लिमबाट १५ जनाको प्रतिनिधित्व हुनेछ । त्यसमा १५ जनामा महिला चार, युवा महिला एक, पुरुष दुई र खुला आठ जना हुनेछन् ।

कूल ६७ महिलाको प्रतिनिधित्व हुनेछ । जम्मा ४८ युवाको प्रतिनिधित्वमा महिला १७ र पुरुष ३१ हुनेछन् । एक सय २४ सदस्यमा खुल्ला प्रतिस्पर्धा हुनेछ । यसैमा खस, आर्य, मधेसी, थारु, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति खुलाबाट आउनेछन् तर यी जातजातिको सवालमा निश्चित कोटा नछुट्याए पनि समानुपातिक हुनेछ ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले आठौँ महाधिवेशन पनि पार्टी सबैभन्दा समावेशी हुने दाबी गरे । माओवादी केन्द्रले वर्तमान सरकारमा समेत महिला, मधेशी, आदिवासी जनजाति, दलित र उत्पीडित समुदायको प्रतिनिधित्वसहित समावेशी ढङ्गले मन्त्रिपरिषद्मा पठाएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिनका दिन आज काठमाडौँमा आठौँ महाधिवेशन गर्दै छ । महाधिवेशनसँगै माओवादी केन्द्र बहुपदीय प्रणालीमा जाँदै छ ।

अन्तरिम विधानअनुसार पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको छ । पदाधिकारीमा आरक्षणको व्यवस्था गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस