महारानीथानमा सडक बिस्तार र कालोपत्रे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महारानीथानमा सडक बिस्तार र कालोपत्रे


५ पुस २०७८, सोमबार


म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ ।

सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो ।

सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बनाएर एक हजार दुई सय बर्गमिटर कालोपत्रे गरिएको उनले बताए ।

जोखिमयुक्त दुई स्थापनमा मेसिनरी पर्खाल निर्माण भएको छ । नगरपालिकाको ३० र सडक बोर्डको ७० प्रतिशत लागत साझेदारीमा योजना निर्माण गर्न सोमरस निर्माण सेवा खबराले गत बैशाख महिनामा तीस लाख ७१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

कूल ४७ लाख ५९ हजार ६१७ मा लागत अनुमान गरिएको थियो । दुई महिनाको म्याद भएको आयोजना कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण म्याद थपिएको थियो । एक हप्ता अघिनै सम्झौता अनुसारको काम सकेपनि भुक्तानी नपाएको सोमरस निर्माण कम्पनीका सञ्चालक प्रबिन सापकोटाले जानकारी दिए ।

बोर्डले बजेट पठाउन ढिलाई गर्दा भुक्तानीमा समस्या भएको हो । यो सडक नगरपालिकाको ६, ५, ९, १०, रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्छ । विसं २०७३ मा गरिएको कालोपत्रे बाढी र पहिरोले उक्किएर जिर्ण बनेपछि दोस्रो पटक कालोपत्रे भएको हो ।

यसैबीच महारानीथान र कुरिलाखर्कको बाढी ब्यवस्थापन तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि ५५ लाख ८७ हजार सत्तरी रुपैयाँ लागत अनुमानको ठेक्का प्रस्ताव आव्हान भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस