प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं: मन्त्री हुमागाईं « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं: मन्त्री हुमागाईं


४ पुस २०७८, आइतबार


काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएकी छन् ।

उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिएकी हुन् ।

‘प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ’, उनले भनिन् ।

उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताइन् ।

मन्त्री हुमागाईँले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताइन् । उनले भनिन्, ‘कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।’

उनले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ (एकीकृत समाजवादी) जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस