काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) पनि शेयर कारोबार मापक नेप्से परिसूचक ७९ अङ्कले घटेको छ ।
नेप्से परिसूचक ७९ दशमलव २३ अङ्कले घटेर २ हजार २ सय ८२ अङ्कमा झरेको छ । हिजो (आइतबार) २३ सयको लाइनमा झरेको नेप्से परिसूचक एकैदिनमा २२ सयको लाइनमा झरेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अङ्कले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ ।
कारोबार रकम भने आइतबारको भन्दा धेरै हो । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।
बजार ठुलो अङ्कले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुह्येश्वरी मर्चेन्ट फाइनान्सको शेयर मूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बोटलर्स नेपाल (तराई) ५ दशमलव ४० प्रतिशत अर्थात् एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ । माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।
धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनीहरु देखिएका छन् । यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।