एक कर्मचारीले भूँई मान्छे नभेटेको काङ्ग्रेस महाधिवेशनको भृकुटीमण्डप परिसर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक कर्मचारीले भूँई मान्छे नभेटेको काङ्ग्रेस महाधिवेशनको भृकुटीमण्डप परिसर


२७ मंसिर २०७८, सोमबार


दोलखा जिल्लाको एक घटना र गुल्मी जिल्लाको कर्को एक घटनाले २०७८ सालको मङ्सिर २५ गते शनिवारको बिदाको दिन नेपाली कांग्रेशको राष्ट्रिय महाधिवेशन हुँदै गरेको स्थान भृकुटीमण्डप तर्फ तानिएको थिएँ ।

२०७२ साल तिर दोलखामा जिल्ला शिक्षा अधिकारी भएको वेला एउटा दुर्गमतिरको विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा विवाद भएकोले त्यहाँ पुग्न पर्ने भयो । सिगुटी भन्ने ठाउँसम्म कार्यालयको मोटरमा पुगियो । त्योभन्दा पर बाटो राम्रो नभएकोले जान नसकिने मोटर चालकले बताए । त्यसठउँसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफै हामीलाई लिनै आएका रहेछन् । उनी ३२-३४ वर्ष उमेरका जस्ता तामाङ थारका मोटाघाट मान्छ देखिन्थे । ‘मेरो आफ्नै गाडी छ । म आफै चलाउँछु । हजुरहरू यहाँबाट फर्किन भएन । जाऊँ’ भने।

म फर्किने सोचमा थिइन । तर हिँडेर नै जाने विचार थियो । त्यसरी जाँदा धेरै समय लाग्ने र त्यो दिन उही बस्न पर्ने अवस्था देखियो । भोलिपल्ट अर्कै ठाउँमा कार्यक्रममा नगै नहुने भएकाले फर्किन पर्ने नै थियो । डराइ डराइ म उनको मोटरमा चढेँ । पानी आएको थियो । कच्ची बाटो । तथापि उनले बडो सतर्कताका साथ बेलाबेलामा फोरह्वविल लगाएर गन्तव्यमा पुर्‍याए । पुगे पछि विद्यालयमा उनकै अध्यक्षतामा बैठक बस्यो । निकै विवाद भयो । अन्तिममा मैले भनेकै कुरामा सहमति भयो । अध्यक्ष निकै खुसी भए जस्तो लाग्यो । हामी फर्कियौँ ।

केही घण्टाको बाटो थियो ।  गफगाफ निकै भयो । ती अध्यक्षको गाडी चलाउने सीपको मैले निकै प्रशंसा गर्न पुगेँ छु । ‘म त हजुर द्वन्द्वमा कस्ता कस्ता ठाउँमा गाडी चलाइयो । वहाँ प्रधानमन्त्री हुँदा पनि गोरखाको कुना कुनामा गाडी चलाइयो’ भने । म निकै अचम्ममा पर्दै उनको बारेमा जानकारी लिने प्रयास गरें । उनी त माओवादी युद्ध पूर्व काठमाण्डौंका ट्याक्सी चालक रहेछन् । पछि माओवादी लडाकु र चालक भएछन् । डा. बाबुराम भट्टराई अर्थ र प्रधानमन्त्री हुँदा उनकै चालक रहेछन् ।

त्यस्तो ठाउँमा पुगिसकेको तपाइ अहिले यहाँ भनेर मैले प्रश्न गरेँ । उनले उत्तर दिए ‘त्यहाँ सधैँ ड्राइभर हुन पर्ने हजुर । लडाकुले पाउन पर्ने केही लाख रुपियाँ पाएँ अरू पनि मिलाएर दुई वटा गाडी किनेको छु । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भइएको छ । डिसिम पनि हो म त । ठिकै गरेको जस्तो लागेको छ, शर !’ भनेर भने । म अलमलिए उनले डिसिम भनेको के होला भनेर । त्यो त माओवादी पार्टीको जिल्ला समितिको सदस्य भनेको रहेछ । उनीसँगको यात्रा साह्रै रमाइलो भयो । विद्वान पूर्व प्रधानमन्त्रीको दैनिकी र व्यक्तिगत जीवन शैलीका बारेमा निकै गन्थन भए । सशस्त्र आन्दोलनका घटनाका बारेमा गफगाफ भए ।

त्यही सिलसिलामा उनले भने हजुरले असजिलो नमान्ने भए एउटा कुरा सोध्न मन लाग्यो । तपाइ जस्तो विद्वान जिशिअ पाइयो खुसी लागेको छ भन्दै मलाइ मक्ख पार्दै पुनरावृत्ति गरे । मैले सहजै हुन्छ भन्नुहोस् न भनेँ । उनले त मलाई राजनीतिक कुरा पो सोधे ‘होइन हजुर त्यो काँग्रेसलाई मान्छेले किन भोट हाल्छ ? हाम्रो यहाँको चुनावमा तिनीहरूले प्रचार नै गरेको थिएन । वल्लो गाउँ पल्लो गाउँ सबैबाट अलिअलि भोट आएको आइ भयो सबै जोड्दा त झन्डै जितेको । उनीहरूकै मान्छेले अन्तर्घात गरेको रहेछ । नत्र जिती हालेको । मेरो क्षमाहरू को कोले पनि त्यसैलाई हाल्ने हो भनेर भोट दिएछ ।’

म अलमलिएँ मैले म खासै राजनीतिक कुरा बुझ्दिन । चासो पनि त्यति छैन । राजनीतिको विद्वान त तपाइ पो हो । त्यत्रो धेरै अनुभव तपाइसँग छ । ल यसमा तपाइको विचार भन्नुहोस् । त्यसमा मेरो चित्त बुझे नबुझेको कुरा भनौँला भनी आफूलाई सहज बनाउने प्रयास गरेँ ।

उनले आफ्नो कुरा सुरु गरे ‘होइन हजुर त्यसले व्याज पाएको होला’ भने: मैले बुझिन भनेँ । होइन २००७ साल, २०४७ साल, २०६३ साल सबैमा उसैले नेतृत्व  गर्‍यो । अनि त्यसैले उसलाई भोट दिन्छन् होला” भनेर सुनाए । म धेरै त्यसमा प्रवेश गर्न नचाहेर टार्ने कोसिस गर्दै थिएँ । उनले अरू थपे ‘होइन हजुर हाम्रो नेपालीहरूलाई धेरै ठुला विकास चाहिएको छैन कि । यो राजनीति गर्नेहरूमा विश्वास छैन एउटा कुरा हो जस्तो लाग्यो । बरु धेरै हल्ला खल्ला नगर्ने धेरै महत्त्वाकाङ्क्षी पनि नहुने । धेरै नबिगार्ने पार्टी नै मन पराउँछ क्या हो । त्यो कांग्रसले त्यतिकै भोट ल्याउँदो रैछ ।’ त्यो भन्दा बढी त्यो विषयमा कुरा भएन । मैले कुरालाई अर्कै विषयतर्फ मोड्न सफल भएकोमा  गर्व गरेँ ।

त्यस्तै अर्को घटना गुल्मीको दुर्गम गाउँ अर्लाङ्ककोटको फेदीमा भयो । एक रात विद्यालय अनुगमनको क्रममा जिल्लाको दुर्गम ठाउँ, वागलुङ्गको सीमा, बुढी गण्डकी नदीको किनारको बस्तीमा बस्न पर्ने भयो । एउटा घरमा लगेर शिक्षक साथीहरूले राखे । म सुत्ने कोठा ठुलो हल जस्तो थियो । गाउँका १२-१५ जना मान्छे जुटेका थिए । केही समयको गफगाफ पछि म निदाए जस्तो मानेछन् ।

मैले उनीहरूको विद्यालयका बारेमा गरेको कुरामा निकै खुसी जस्तो लाग्यो । उनीहरूले गाउँका गाई भैँसीका कुरा गरे । अर्मपर्मका कुरा गरे । त्यस पछि राजनीतिका कुरा चले । उनीहरूले कोइराला परिवार नभै नेपालको राजनीति राम्रो हुँदैन । काङ्ग्रेस राम्रो हुँदैन । नेपालमा प्रजातन्त्र खतम हुन्छ जस्ता गफ गरे । तिनीहरूमध्ये अर्को दलका मान्छे पनि त्यहाँ रहेछन् उनले पनि हो मा हो मिलाए ।

उनीहरू एक छिन पछि गए म दङ्ग परिरहेँ । यिनलाई काँग्रेस होउन् कि कमुनिश्ट के को चिन्ता  होला । त्यति साह्रो त्यो दल प्रति आत्मीयता र प्यार । पछि मैले एउटा प्रसङ्गमा त्यस जिल्लाका तत्कालीन नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठलाई सोधेँ ‘त्यहाँका मानिसहरू त तपाइको पार्टीका पनि धेरै नै रहेछन् । तपाइको गुटका हुन कि अर्कै ।’ उहाँले भन्नु भयो । ‘तिनीहरू सबै भन्दा दुखी तपाइले गरेजस्तो प्रश्नमा हुन्छन् । हामी विभिन्न गुटमा हुँदा हुन्छन् । साह्रै परिश्रमी छन् । कहिले पनि गुनासो हुँदैन । एउटमात्र कुरा गर्छन् त्यो काङ्ग्रेस राम्रो हुन पर्छ । जनताको भलो गर्न पर्छ । २०१४ हो कि २०१५ साल तिर बिपीबाबु त्यहाँ एक रात बस्नु भएको थियो रे त्यस वेला देखि त्यहाँका मानिस प्राय सबै काङ्ग्रेस छन् । त्यहाँका अर्को दलका मानिस पनि सभ्य र शिष्ट छन् जिशिअ साहेब ।’ भन्नुभयो । ती प्रकृतिको सामीप्यमा भएका रैथाने कृषकहरूको गाउँको विद्यालय पनि मध्यम खालको र आफ्नै गतिमा चलेको थियो ।

मन मस्तिष्कमा स्थान जमाएका यी घटनाले भृकुटीमण्डपको अवलोकन गर्न पुर्‍याए । दिनको ठुलै अंश शुस्तशुस्त हिँडाइ र केही बेरको उभ्याईमा त्यो महाधिवेशन परिसरमा बिताएँ । मैले चिनेका मानिस त्यहाँ खासै कोही पनि थिएनन् । त्यसले गर्दा पनि गफ गरेर अलमलिन परेन । त्यहाँ युवा देखि बुढासम्मका विभिन्न उमेर समूहका पात्रहरू थिए । महिलाहरूको पनि बाक्लै उपस्थिति थियो । सुरुमै एउटा समूहको नजिक पुगिएछ १०-१२ जनाको समूहमा गफगाफ भई रहेको थियो ।

एक जना अधबैंसे युवाले दुख व्यक्त गर्दै भने ‘डालोमा सबै कुहिएको सुन्तला छ के गर्ने जुन झिके पनि कुहिएकै आउने हो । यिनै बुढाहरूलाई मात्र भोट हाल्न पर्ने । यस्ता वाट अव देश चल्दैन । काङ्ग्रेस चल्दैन । अरू पदमा त बरु त्यो गगन लगायत एक दुई जना छन् । तर जुन मूली हो ऊ त उही चाउरी परेको थाकेको र जाँगर नभएको मात्र छ, के गर्नु खै । फलानो फलानो नउठेको भए त म त फर्किने थिएँ ।’ भनेको कुरा कानमा पर्‍यो । सुनेँ । आफ्नो मन्द गतिमा हिँडी नै रहेँ ।

त्यहाँ नारा र जुलुस पनि थिए । ‘मेची काली के भन्छ एक जना फलाक्छन् । अर्कोले फलानो दाइ भन्छ भन्दै उफ्रिएका पनि थिए’ फलानो र फलानो  व्यक्ति भन्नेहरूकै वर्चस्व थयो । फलानाको विचार यस्तो भनेको न देखियो नसुनियो । विचारको गन्थन कहीँ कतै देखिएन । विश्वप्रकाश शर्माले ल्याएको दुई वर्ष, तीन वर्ष र चार वर्षको दृष्टिकोण पनि कहीँ कतै न पोस्टरमा न कहीँ कति गन्थनमा सुनियो । बरु एक जना मधेसतिरका मधेसी मूल कै मैथिली लवजका सामान्य मानिसले ‘कस्तो आँट नभएको मानिस रहेछ, त्यस्तो राम्रो विचार ल्याएको थियो सभापतिमा उठ्नु नि !’ भनी असन्तुष्टि र गुनासो गरेको सुनियो ।

सबैजसो मानिसहरू सुकिला मुकिलै थिए । एका दुई विशेष गरी मधेशमूलका आफ्नै त्यहीको सामान्य पोसाकमा देखिन्थे । अपवाद जस्तो देखिने घुरमैलो सेतो धोती लगाएका एक जना पुरुषलाई एक जना महिला पत्रकार महोदयले आफूसँग भएको हेन्डमाइक समाएर प्रश्न गर्न थालिन । ती पुरुष उनको जवाफ दिन त्यति उत्साह देखिन्थिएन । पत्रकारले ‘अधिवेशनमा किन आएको’ भनिन् । उनले सहजै उत्तर दिए ‘नेपालको विकास गर्ने नेतालाई भोट हाल्न ।’ पत्रकारले ‘तपाइ नउठ्ने ?’ भनिन् । उनले ठाउँ हल्लाएर नउठ्ने सङ्केत गरे । पत्रकारले ‘कसलाई भोट हाल्ने भनेर सोधिन’ उनले ‘राम्रो नेतालाई’ भनिदिए । फेरि दोहोर्‍याइन ‘मधेसको कि ? पहाडकोलाई ?’ उनले जवाफ दिए ‘नेपाली काङ्ग्रेसको मान्छेलाई’ उनीहरूको कुरा सकियो ।

त्यो भिड! प्रचार शैली ! केही उश्रृखलता आदि इत्यादिले मलाई प्राध्यापक कृष्ण खनालको ‘पार्टी, विचारधारा र नेतृत्व’ (कान्तिपुर दैनिक मङ्सिर १९, २०७८)  र राजनीतिक विश्लेषक प्रदीप गिरीको ‘शुष्क शास्त्र र हरियो राजनीति’ (कान्तिपुर दैनिक मङ्सिर २४, २०७८) लेख फेरि पढ्न मन लाग्यो । त्यसै गरी चिन्तक हरि रोकाको ‘नेपाली काँग्रेसको सैद्धान्तिक सङ्कट’ (कान्तिपुर दैनिक मङ्सिर २६, २०७८)  पनि पढेँ । वहाँहरूका अनुसार जब विचार कमजोर हुन्छ तब मानवत्व कमजोर हुन्छ । देवत्व जन्मिन्छ । देवत्वले, अन्त्य खतरा निम्त्याउँछ । वहाँहरूको लेखमा सरकारी पद र प्रभावको पार्टी अधिवेशनमा दुरुपयोग भएको गुनासो सुनिन्छ ; नेता भनेका सबैभन्दा ठुलो सामन्त र ठेकदार हुन जस्तो लाग्छ ; लेनदेन र भागबन्डा नमिलेपछि पार्टी बदल्ने मानसिकता छ उनीहरूमा  भन्ने कुराको अन्तर बोध हुन्छ।

म राजनीति शास्त्रको विद्यार्थी होइन । राजनीति कर्मी पनि होइन ।  त्यसैले चुनाव र राजनीतिका विषयवस्तु मसिनोसँग बुझ्न मलाई कठिन हुन्छ । विद्वान विश्लेषक त्रय रोका, खनाल र गिरीको दृष्टिमा राजनीति विचार प्रधान हुन पर्छ । कर्ण शाक्यको ‘शोच’ पुस्तकमा मिहेनत गर्नेले चुनाव दिन्छ भन्ने सप्रमाण प्रस्तुति छ । विचारमा मिहेनत? पैसाले मिहेनत? भृकुटी मण्डपमा देखिएको दृश्यमा जस्तो फलानो दाइ केन्द्रित प्रचार प्रसारमा मिहेनत ? केमा मिहेनत गर्न पर्ने होला ? म अलमलमा छु ।

राज्य, राज्यको उत्पत्ति र हाम्रो परिवेशका बारेमा घोत्लिन प्रयास गर्दछु । बुझ्ने प्रयत्न गर्दछु । राज्यको उत्पत्ति  समूहवादको सिद्धान्तका आधारमा भएको थियो । निश्चित समूहलाई अर्को समूहबाट जोगाउन र सुरक्षित हुनका लागि यसको उत्पत्ति भएको थियो । निश्चित भूगोलमा निश्चित मानिसले आफ्नो आधिपत्य जमाउने बस्ने गर्न थाले । यो प्राणी जगतको प्राकृतिक र स्वाभाविक बाध्यता थियो । अहिले पनि कतिपय जङ्गली जनावरमा समेत आफ्नो झुन्ड बनाउने र निश्चित भूभागमा विचरण गर्ने गरेको पाइन्छ । यस प्रकारको समूहकरणमा नेतृत्वको महत्त्व उच्च हुन्छ र थियो ।

मानिस अरूभन्दा भिन्न र विकसित प्राणी भएकाले सो समूहिकृत स्वरूप विकसित हुँदै आयो । अरू प्राणीमा सामान्यतया बलियोले नेतृत्व गरेको हुन्छ । मानिसमा विचार र विवेक भएकाले ती मध्यको चलाख र अरूलाई प्रभाव पार्न सक्ने समूहको सदस्यले नेतृत्व गर्न थाल्यो । त्यसलाई राजा भन्न थालियो।  विवेकसँगै स्वार्थ र महत्त्वाकाङ्क्षाले काम गर्न थाल्यो परिणामतः यसले वंशीय रूप धारण गर्दै गयो । राजाका सन्तान नै राज्यको सर्वेसर्वा हुने चलन आयो ।

अहिले पनि संसारका केही मुलुकमा यस्तै छ तापनि समयले यसलाई पनि स्विकारेन किनकि त्यो अप्राकृतिक थियो । विवेकशील प्राणी मानिसका दिमागले र उसका अभ्यासहरूले अनेक उपायहरू उत्पत्ति गर्‍यो । राज्य चलाउने क्षमता भएकाले पो राज्यको नेतृत्व गर्ने हो; जनताले जनमत मार्फत चुनिएको मान्छेले निश्चित समयसम्म नेतृत्व गर्ने र फेरि पनि नेतृत्व गर्न चाहेमा जनताबाट अनुमोदित हुनै पर्ने भन्ने विचारले प्रश्रय पाउन थाल्यो । यस प्रकार राज्य नेतृत्वमा जनमतको सिद्धान्तको वर्चस्व अहिले संसारमा छ । त्यो भन्दा पनि माथि राज्यको संविधान हुने; संविधानले गरेको पथप्रदर्शनका आधारमा नेतृत्व चयन गर्ने; राज्यको स्थायी संयन्त्रले सोही बमोजिम काम गर्ने सिद्धान्त र प्रचलन नेपाल लगायतका देशहरूमा समसामयिक परिवेशमा स्थापित भएको छ । 

उल्लिखित मूलभूत मान्यता र संवैधानिक प्रावधानका आधारमा बहुदलमा आधारित सङ्घीय गणतन्त्रमा आधारित लोकतन्त्रको अभ्यास हामीले गर्दैछौं । त्यही विचार, विधि र प्रक्रियाका आधारमा नेतृत्व छनोट गर्छौँ । यिनै मूलभूत दर्शन, सिद्धान्त तथा संवैधानिक प्रावधानका आधारमा दलहरूले आ-आफ्नो विचार र राजकीय सत्ता व्यवस्थापन र सञ्चालन गर्ने तरिका चुनावी घोषणापत्र मार्फत जनतामा जाने र जनताले जसलाई अनुमोदन गर्छ, उसैले नेतृत्व सम्हाल्छ र उसको घोषणापत्र कार्यान्वयन गर्छ । यस्तो वैचारिक मान्यताका आधारमा राज्य चल्न पर्ने हो, हामीले अवलम्बन गरेको मुलुकको राज्य व्यवस्थामा । विचार प्रधान भई विचार र विवेकका आधारमा राज्य सञ्चालन हुँदा धेरै बेथिति आफै नियन्त्रणमा आउँछ । भन्ने मान्यता रहन्छ ।

नेपालको आठ दशक अर्थात् पौने शताब्दी नेपाली काँग्रेसको नजिकमा राज्य सत्ता रह्यो । यसको आफ्नै इतिहास छ । हाम्रा राजनीतिक विश्लेषक र साहित्यका गुरुहरूका अनुसार यो दलको एउटा अचम्मको विशेषता के हो भने त्यो दलका सूत्रधारका अर्थात् चिन्तक विशेश्वर प्रसाद कोइराला एउटा अनौठा प्राणी थिए रे । उनी नेता मात्र होइन साहित्यकार पनि थिए । त्यो भन्दा पनि आश्चर्यजनक विशेषता उनको साहित्य र राजनीति बिचमा भेटघाट हुँदैन रे । जसको सम्पूर्ण जीवन शैली राजनीतिमा छ उसले त्यसबाट अलग भएर साहित्य लेख्नु अद्वितीय विशेषता मानिँदो रहेछ । विश्वमै यस्तो व्यक्तित्व अपवादमा मात्र पाइन्छ रे।

विचार प्रधान नभै व्यक्ति प्रधान हुँदा लोकतान्त्रिक मूल्य र मान्यता ओझेलमा पर्छन् । राज्य निरङ्कुश हुने खतरा बढ्छ । फेरि विवेक र विचार भन्दा गुट, झुन्ड र निश्चित समूह हाबी हुन थालेमा बेथिति परकाष्टामा पुग्छ । विधि, विचार र दर्शन विनाको झुन्ड विवेक नभएको प्राणी (पशु) बन्न पुग्छ । त्यसरी राज्य सञ्चालन हुन पुगेकोमा सर्वसाधारणको राज्य प्रतिको विश्वास कमजोर हुँदै जान्छ । राज्य शक्ति र जनता बिचको सम्बन्ध सूत्रको प्रगाढता कमजोर हुन्छ । यसले राज्य शक्ति र जनता बिचको दूरी टाढा हुँदै जान्छ; भन्ने कुरा विश्लेषक र परिदृश्यहरूको अवलोकनबाट सिक्न पाइयो ।

तथापि सयौँ हजारौँको भिडमा सायद ती दोलखा र गुल्मीका भूँइमान्छे जस्ताको प्रतिनिधित्व गर्ने र पत्रकारलाई सरल जवाफ दिने मधेस मूलका एक दुई पात्रहरू अपवादमा जस्तो थिए । जे होस ती मधेसी अन्तर आत्मादेखि नेपालको उन्नति देख्न चाहने भूँइ मान्छेलाई नजिकबाट नियाल्न पाउँदा मानस पटलमा एउटा अर्को अमेट्य छाप बस्न पुगेको छ ।

(लेखक नेपाल सरकारका सहसचिव हुन र हाल चिकित्सा शिक्षा आयोगमा कार्यरत छन्)

Tags :
प्रतिक्रिया दिनुहोस