कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु


२६ मंसिर २०७८, आइतबार


कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ ।

झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए ।

घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

‘हात्ती आएको थाहा पाउने बित्तिकै परिवारका सबै जना भागे’, उनले भने, ‘खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पुर्‍याउँदा ज्यान गयो ।’

शिवरमा रानाका श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ ।

हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस