काँग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : नेता कार्की « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : नेता कार्की


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका नेता कार्कीले आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताए ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा आफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गरे ।

उनले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष गरे । नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

उनले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गरे ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका उनले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नु रहेको भन्दै देशमा गरिबी र बेरोजगारी उन्मुलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एसियाको सम्पन्न मुलुकको दाँजोमा पुर्‍याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गरे ।

उनले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वाभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराए ।

काँग्रेस वृत्तमा मात्र नभएर आम जनतामा समेत उनी निकै शालीन, भद्र र बुद्धिजीवी व्यक्तित्वका रुपमा चिनिन्छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा सुरु हुदैँछ । विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

को हुन् नेता कार्की ?

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धनको सरकार गठन हुँदा नेपाली काँग्रेसको तर्फबाट नेता कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए ।

सरकार गठन भएको ८८ दिनमा विस्तार हुने क्रममा उनलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिइयो । कानूनमन्त्री रहँदा नै उनलाई सरकारको प्रवक्तासमेत तोकिएको थियो ।

यसअघि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा उनी अर्थमन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

विसं २०७४ को आम निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सांसदमा निर्वाचित भएका थिए ।

भोजपुरको देउरालीमा जन्मिएका उनी १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिनुका साथै उनले नेपालको विद्यार्थी आन्दोलनका क्रममा पटक पटक जेल सजायसमेत भोगेका छन् ।

भोजपुरको विद्योदय माविमा नेपाल विद्यार्थी सङ्घको कोषाध्यक्ष रहेका उनी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्ववियुमा नेविसङ्घको तर्फबाट सचिव बनेका थिए भने २०३९ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्षसमेत बने ।

विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनापछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दा नेता कार्की उनको सहयोगीको रुपमा काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस