आमसञ्चार माध्यमको सहयोगले भूकम्पपछिको पुनःनिर्माण सफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आमसञ्चार माध्यमको सहयोगले भूकम्पपछिको पुनःनिर्माण सफल


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । आमसञ्चार माध्यमले भूकम्पपछिको पुनःनिर्माणलाई महत्वका साथ प्रचारप्रसार गरेकैले पुनःनिर्माणको छ वर्षे अवधिमा करिब ९० प्रतिशत प्रगति भएकामा जोड दिइएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा प्राप्त अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई हस्तान्तरण गर्न आयोजित सम्मेलनका क्रममा विज्ञले यस विषयमा जोड दिएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलनको पुनःनिर्माणमा सञ्चार माध्यमको भूमिका विषयक सत्रमा वक्ताले आलोचनात्मक विषयवस्तु सार्वजनिक गरेर सञ्चारजगत्ले भूकम्पपछिको पुनःनिर्माण सफल बनाउन सहयोग गरेको बताए ।

कार्यक्रममा पूर्वसचिव एवं प्राधिकरण निर्देशक समिति सदस्य किशोर थापाले आमसञ्चार माध्यमले आलोचनात्मक भएर पुनःनिर्माणलाई सही बाटोमा अघि बढाउन सहयोग गरेको बताए । यति हुँदाहुँदै पनि परम्परागत ढुङ्गामाटोजस्ता सामग्रीबाट घर बनाउन सकिन्छ भन्ने सन्देश फैलाउन भने नसकिएको उनको भनाइ थियो । पुनःनिर्माणपछि पुनःस्थापनाका कार्यक्रमलाई अझै सञ्चारमाध्यमले पछ्याइरहनुपर्ने पूर्वसचिव थापाको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भूकम्पपछि खाना खान पाएनन्, कपडा लगाउन नपाएर मरे भन्नेखाले समाचार लेख्नै नपर्ने अवस्था आउनुमासमेत सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । राहत सामग्री वितरण भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा सहयोग गर्ने हातहरू बढेर यो अवस्था आएको उनले सुनाए ।

संविधान निर्माण र भूकम्पपछिको पुनःनिर्माणको समाचार सञ्चारमाध्यममा सँगसँगै आएकाले पनि निजी आवासलगायत भूकम्पले क्षतिग्रस्त संरचना छिटो बनाउन सहयोग पुगेको अध्यक्ष पोखरेलले बताए । आमसञ्चार माध्यमको खबरदारीकै कारण पुनःनिर्माणमा अहिलेको सफलता प्राप्त भएको उनले सुनाए।

बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सरकारी निकायले एउटै व्यक्ति वा सञ्चारमाध्यमलाई विभिन्न शीर्षकमा पैसा दिने तर संस्थागतरूपमा सञ्चारकर्मीको क्षमता विकासमा खर्च नगर्ने गरेकाले कतिपय विषयमा पत्रकारलाई जानकारी नहुने समस्या रहेको बताए । विगत चार वर्षदेखि प्राधिकरणको सञ्चार विशेषज्ञका रूपमा काम गर्नुभएका कसमस विश्वकर्माले भूकम्पपछिको पुनःनिर्माणका समाचार अझै मेहेनतका साथ खोजेर लेख्ने समय बाँकी नै रहेको बताए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक समिति सदस्य निमानन्द रिजाल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कमलप्रसाद सिग्देल, भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का सञ्चार संयोजक खड्ग सेन ओलीलगायतले विपद्का समाचारलाई अझै महत्वका साथ सञ्चारमाध्यमले पछ्यारहनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छ वर्षे पुनःनिर्माण अवधिमा सञ्चारमाध्यममा आएका समाचारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सत्रमा विभिन्न सञ्चारमाध्यमका पत्रकारको सहभागिता थियो ।

सम्मेलनमा कार्यपत्र प्रस्तुति सत्र सकिएको छ । विभिन्न २० वटा सत्रमा निजी आवास, स्वास्थ्य संस्था, विद्यालय, सरकारी भवन, पूर्वाधार, सांस्कृतिक सम्पदालगायत सत्रको आयोजना गरिएको थियो । सम्मेलनमा जुम र भौतिक गरी करिब एक हजार जनाको सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको समापन आजै प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस