धनगढी । बझाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
२०६२ सालमा घरेलु हतियारको प्रयोग गरेर एक पुरुषको हत्यामा संलग्न रहेका तत्कालीन सुवेडा गाविस–८ का ३९ वर्षीय प्रकाश रानालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई धनगढी उपमहानगरपालिका–८ को मोतिचोकमा लुकेर बसेको सूचनाका आधारमा कैलाली प्रहरीको समन्वयमा पक्राउ गरिएको बताइएको छ । रानालाई बझाङ पुर्याएर जिल्ला कारागार चलान गरिएको छ ।
सुवेडाकै स्थानीय मीनबहादुर भण्डारीको सामूहिक हत्यामा संलग्न रानासहितका पाँच जनालाई जिल्ला अदालतले २०६६ सालमा २० वर्ष कैद सजाय सुनाएको थियो । तर अन्य चार जना प्रतिवादी अझै फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखिएको छ ।