काठमाडौँ । बिइङ ह्युमनुका म्यानेजर तथा व्यापारी हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् ।
काठमाडौँको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट गत शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९ लाख ५० हजार रुपैयाँसहित कपडा पसलबाटै पक्राउ गरिएको हो ।
खनाललाई पक्राउ गरी ललितपुरको पल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा ६९,५०,००० रुपैयाँ फेला परेको हुँदा बरामदी मुचुल्कासमेत गरी सोधपुछ गर्दा श्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुलचोक ललितपुर पठाइएको छ, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा जनाइएको छ ।
खनाललाई प्रहरीको महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।