पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै


१७ मंसिर २०७८, शुक्रबार


पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो ।

दुई हजार ४०० मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।

करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए । ‘हामीले साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ तर कोरोनाले गर्दा समय पनि लम्बियो र लागत पनि बढी भयो ।’

उनले योजनाको प्रारम्भिक खाकामा करिब रु एक अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको जनाए ।

‘सुरुमा हामीले फेब्रिकेशनमा बिल्डिङ बनाउने सोचेका थियौँ तर पछि पुरै आरसिसी बनायौँ । टप स्टेसनमा भ्यूटावर निर्माण पनि त्यसरी नै बनायौँ । निजी आवधिक जग्गा पनि भाडा लिने सोचेका थियौँ तर पछि चलिआएको मूल्य दिएर नै स्थानीयवासीसँग खरिद गर्‍यौँ, यसले हाम्रो लागत बढ्यो । केबुलकार निर्माणमा रु दुई अर्ब बढी खर्च भएको उनको भनाइ छ ।

केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेसन भवनमा स्काइ हेवन बेलुन रेस्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।

केबुलकारमा जाने र आउने शुल्क रु ६०० निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने रु ७०० र ८०० भाडा कायम गरिएको छ । सार्क देशका पर्यटकलाई प्रतिव्यक्ति रु ७०० र अन्य मुलुकका पर्यटकलाई रु ८०० लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।

अन्नपूर्ण केबुलकार प्रालिका अध्यक्ष व्यवसायी कालु गुरुङ छन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

केबुलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास आफूहरूले लिएको अध्यक्ष गुरुङले बताए । ‘पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो, केबुलकारमा यात्रा गर्दा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।’

केबुलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट आठदेखि नौ मिनेटमै सराङ्कोट पुगेर सराङ्कोटबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ । कम्पनीले यही अङ्ग्रेजी नयाँ वर्षबाट सफ्ट ओपनिङको तयारीसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस