सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ ।

सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।

उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौ वटा र एकल दुई वटा इजलास गठन भएका छन् ।

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ?

न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उनको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङको मुद्दा परेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दी प्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरु परेका छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरु रहेका छन् । न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ ।

न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्ह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा, न्यायाधीशहरु तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ ।
त्यस्तै, एकल इजलासहरुमा न्यायाधीश मिरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानुनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ ।

‘गोला प्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।’

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्छन् । दुई वटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहन्छन् । बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ ।

‘जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ’–उनले थपे, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।’

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ ।

श्रीलङ्का, युरोपेली मुलुकहरुमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोला प्रक्रियाबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।

स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो : वरिष्ठ अधिवक्ता डा. ज्ञवाली

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेसन प्रणाली सुरु नगर्दासम्म गोला प्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनुवाइ हुन्छ ।

‘प्रधानन्यायाधीशले मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ । विश्वका धेरै मुलुकमा अटोमेसनको अभ्यास छ’ उनले भने,’न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनबाटै गर्नुपर्ने छ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोला प्रक्रियाबाट मुद्दाको स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो ।

नेपाल बार एसोसिएसनले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत गोला प्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । यद्यपि, कतिपय बारमा आबद्ध कानुन व्यवसायीले पनि गोला प्रक्रिया नै स्वच्छ सुनुवाइको उचित मार्ग होइन भनेका छन् ।

प्रधानन्यायाधीशहरुसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले आजदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस