एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा लगायत विभिन्न दलका नेताको शुभकामना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा लगायत विभिन्न दलका नेताको शुभकामना


१० मंसिर २०७८, शुक्रबार


चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन्

नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको हो । सभामा शुभकामना दिन प्रधानमन्त्री देउवा विशेष अतिथिका रुपमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् ।

सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गरिसकेका छन् । केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभालाई नेपाल मजदुर किसान पाटीका अध्यक्ष चित्र बहादुर केसीले पनि शुभकामना दिइसकेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले पनि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिएका छन् । सभामा विभिन्न स्थानबाट र्‍यालीसहितको जनसहभागिता बढिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस