पाँच अर्बभन्दा बढी राजस्व सङ्कलन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पाँच अर्बभन्दा बढी राजस्व सङ्कलन


७ मंसिर २०७८, मंगलबार


पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिका लागि विभागले रु ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले रु ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो ।

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व सङ्कलन बढ्दै गएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट सङ्कलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट सङ्कलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए ।

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी सङ्कलन भएको कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल सङ्कलन गर्न रु २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएका रु २४ अर्ब ४१ करोड ८४ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ ।

यसै गरी मूल्य अभिवृद्धि कर रु २० अर्ब ८१ करोड २८ लाख सङ्कलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख सङ्कलन गर्न सफल भएको वीरगन्ज भन्सारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस