देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ: मन्त्री कार्की « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ: मन्त्री कार्की


२ मंसिर २०७८, बिहिबार


इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्ने दाबी गरेका छन् ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले जनताको अभिलाषा तथा अक्षांश पूरा गर्ने एक मात्र पार्टी काँग्रेस मात्र भएको बताए ।

जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी काँग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरे ।

उनले काँग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताए । मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिए । काँग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र काँग्रेसको सङ्गठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गरे । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी काँग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्व सभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो ।

कार्यक्रम क्षेत्री सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस