भारतमा जीका भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल कति जोखिममा ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा जीका भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल कति जोखिममा ?


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । भारतका विभिन्न स्थानमा जीका भाइरसका सङ्क्रमित फेला परेसँगै नेपालमासमेत जोखिम बढेको छ । नेपालसँग सीमा जोडिएका स्थानमा सङ्क्रमण बढेपछि चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् ।

अहिलेसम्म औषधि पत्ता नलागेको जीका भाइरसको सङ्क्रमण भारतमा बढ्दै जाँदा नेपाल कति जोखिममा छ ? नेपालमा कस्तो सावधानी आवश्यक छ ? लगायतका विषयमा सरुवा तथा सङ्क्रामक रोग अनुसन्धान विशेषज्ञ प्रा. डा. जीवनबहादुर शेरचनसँग प्रशासन डटकमले गरेको कुराकानी ।

भारतमा जीका भाइरसको सङ्क्रमण देखिएसँगै नेपाल कति जोखिममा छ ?
सन् १९४७ मा अफ्रिकी राष्ट्रमा जीका भाइरसको सङ्क्रमण देखा परेको थियो । सुरुमा बाँदरमा देखा परेको यो भाइरस पछि मानिसमा देखा प¥यो ।

भारतको गुजरातमा सन् २०१७ मा तीन जना व्यक्तिमा देखा परेको जीका भाइरसको सङ्क्रमण सन् २०१८ सम्म आइपुग्दा मध्य प्रदेश र राजस्थान पनि फैलियो । त्यसयता भारतमा जीका भाइरसको सङ्क्रमण प्रत्येक वर्ष जस्तो देखिन थालेको छ ।

अहिले भारतका विभिन्न स्थानमा जीका भाइरसको सङ्क्रमण देखिएको छ । नेपालसँग सीमा जोडिएका क्षेत्रमा पनि सङ्क्रमण पुष्टि भएको छ । दिल्ली, महाराष्ट्र, राजस्थान र उत्तर प्रदेशमा जीका भाइरसको सङ्क्रमण देखिएसँगै नेपाल उच्च जोखिम हुने नै भयो ।

नेपाल र भारतबिच खुला आवतजावत छ । सङ्क्रमण फैलिएका स्थानबाट मानिसहरू नेपाल आए भने उनीहरूसँगै भाइरस नेपाल आउने सम्भावना पनि उत्तिकै छ । यस कारण पनि नेपाल जीका भाइरस सङ्क्रमणको जोखिममा छ ।

जीका भाइरस कसरी सर्छ ?
यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एडिज जातको लामखुट्टेले जीका भाइरस सार्छ । स्त्री जातीको लामखुट्टेले बढी सङ्क्रमण फैलाउने गर्दछ ।

जीका भाइरस सार्ने लामखुट्टे नेपालमा पनि छ । यस कारण पनि नेपालमा सावधानी अपनाउन जरुरी छ ।

जीका भाइरस लामखुट्टेबाट मात्रै होइन मानिसबाट मानिसमा पनि सर्छ । यौन सम्पर्कबाट, गर्भवती आमाबाट बच्चामा, सङ्क्रमितको अङ्ग अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा, सङ्क्रमितले रगत दान गर्दा पनि जीका भाइरस सरेको अनुसन्धानहरूले देखाएका छन् ।

जीका भाइरस सङ्क्रमण भएपछि कस्ता लक्षण देखा पर्छन् ? र कस्तो सावधानी अपनाउनु पर्छ ?
जीका भाइरसको सङ्क्रमण भएको तीनदेखि १४ दिनसम्ममा लक्षणहरू देखा पर्छन् । हल्का ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, शरीरमा बिबिरा देखिने, मांसपेशी र जोर्नी दुख्ने, आलस्य हुने यसका लक्षण हुन् ।

सामान्यतया एउटा सङ्क्रमितलाई टोकेको लामखुट्टेले १० जनासम्मलाई भाइरस सार्न सक्छ । सङ्क्रमित पाँच जनामध्ये एक जनामा लक्षण देखिन सक्छ ।

जीका भाइरस मानिसको रगतमा १५ दिनसम्म बाच्न सक्छ भने युरिनमा एक महिना सम्म बाच्न सक्छ । लामो समयसम्म जीवित रहन सक्ने भएकाले सावधानी जरुरी छ ।

सन्तानको योजनामा रहेका जोडीले सावधानी र सतर्कता अपनाउन जरुरी छ । जीका भाइरसको सङ्क्रमण देखिएको स्थानबाट आएका पुरुषले कम्तीमा तीन महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन ।

एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने भएकाले घर वरिपरि पानी जम्न दिनु हुँदैन । दिउसोको समयमा यो लामखुट्टेले टोक्ने भएकाले पूरा बाहुला भएको कपडा लगाउने र यसको टोकाइबाट बच्ने गर्नु पर्दछ । झुलको प्रयोग गर्ने, लामखुट्टे धनाउने धूप र मलमको प्रयोग गर्नु पर्छ ।
स्त्री जातीको लामखुट्टेले बढी सङ्क्रमण फैलाउने गर्दछ । जीका भाइरसको सङ्क्रमण पनि शरीरमा पानीको मात्रा कम हुने भएकाले झोलिलो पदार्थ खाइरहनु पर्छ । र आराम गर्नुपर्छ । स्वास्थ्यमा जटिल देखिएमा तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

जीका भाइरस कतिको खतरनाक छ ?
जीका भाइरसको उपचारका लागि अहिलेसम्म औषधि बनेको छैन । यस कारण पनि यो भाइरस खतरनाक छ । औसतमा जीका भाइरस सङ्क्रमण भएका पाँच जनामध्ये एक जनामा लक्षण देखिने भएकाले यसको सङ्क्रमण छिटो धेरैमा फैलिने खतरा छ ।

जीका भाइरसबाट गर्भवती महिला सङ्क्रमित भए गर्भ तुहिने वा समय अगावै बच्चा जन्मने जस्ता समस्या देखिन सक्छन् । तसर्थ जीका भाइरसको उच्च जोखिममा गर्भवती महिला बढी छन् । जीका भाइरस सङ्क्रमित आमाबाट जन्मिने बच्चामा मस्तिष्क÷स्नायुसँग सम्बन्धित समस्या देखिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

जीका भाइरस नवजात शिशुमा देखिएका स्नायुसँग सम्बन्धित समस्याहरूको सम्बन्ध रहेको प्रमाणहरू देखिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले जीका भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न’ घोषणा गरेको थियो ।

नेपालमा जीका भाइरस सङ्क्रमणको पुष्टि भइसकेको छैन । कोभिड महामारीसँग जुधी रहेको अवस्थामा फेरि अर्को भाइरसको सङ्क्रमणले थप जटिलता निम्तन सक्छ । यसैले बेलैमा यसको सङ्क्रमणबाट बच्नका लागि सावधानी अपनाउन जरुरी छ । र परीक्षणको व्यवस्था गर्नु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस