काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई तत्काल अधिवेशन गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण भइसकेका सात वटा देशस्थित जनसम्पर्क समितिहरूलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो ।
क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेस गरिसकेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस, पोर्चुगल र क्यानडामा रहेका नेपाली जनसम्पर्क समितिलाई अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिइएको बताइएको छ । त्यस्तै, अस्ट्रेलिया र डेनमार्कको क्रियाशील सदस्यता स्वीकृत गर्ने, इजरायल र पोर्चुगलको संशोधित विधान स्वीकृत गर्ने निर्णय गरेको छ ।
काँग्रेसले क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।
आइतबारको बैठकले अस्ट्रियामा पनि १११ जना सदस्य रहेको भन्दै नेपाली जनसम्पर्क तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।