दिपावली : मनोविकार विजय,आत्मा दीपकको प्रतिक हो « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

दिपावली : मनोविकार विजय,आत्मा दीपकको प्रतिक हो


१८ कार्तिक २०७८, बिहिबार


विजयादशमी लगत्तै आउने महान् चाड तिहार अर्थात् दीपावली हामी नेपालीहरू मात्र होइन विश्वको कुना कुनामा निवास गर्ने सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको साथै अन्य देशहरुमा समेत विशेष धार्मिक महत्त्वका साथ यो पर्व मनाएको पाइन्छ सिंगापुरमा दीपम वल्ली,थाइल्यान्डमा क्रिचंध, मलेसियामा हरि दीपावली, दक्षिण अफ्रिकामा गुजराती रितीले तथा म्यानमारमा हाम्रो जस्तै तरिकाले दीपावली मनाउने प्रचलन छ ।

यसै गरी अस्ट्रेलिया,केन्या,श्रीलङ्का,जापान अमेरिका र इंगलैण्डमा पनि आफ्नै तवरले धूमधामले यो पर्व मनाउनुमा सबैको अर्थ र उद्देश्य लगभग एक नै हुन्छ । लक्ष्मीको पूजा गर्नु तथा घरमा सुख सम्वृद्धीको कामना गर्नु यो सबैको मान्यता र विश्वास रहेको हुन्छ ।

हाम्रो देश नेपालमा यो पर्व पाँच दिनसम्म मनाइन्छ । यसैले यी पाँच दिनलाई यम पञ्चक पनि भनिन्छ । काग तिहार, कुकुर तिहार,लक्ष्मी पूजा,म्ह पूजा अर्थात् आत्माको निवास स्थान पञ्च तत्त्वले बनेको आफ्नै शरीर एवं किजा पूजा अर्थात् भाइटिका समेत गरेर पाँच दिनसम्म बडो हर्षोल्लासका साथ मनाइने यस पर्वमा नेपालीहरू आ–आफ्नो घर आँगनलाई सफा गरेर सबै ठाउँमा बत्ती बालेर झिलिमिली पार्छन् ।

कार्तिक कृष्ण अमावास्याको घोर कालिमायुक्त रात, जहाँ सम्पूर्ण प्रकृति जगत्मा अत्यन्त अन्धकार छाएको हुन्छ भने मानिसहरू आ–आफ्नो घर, आँगन,चोक र सडक गल्लीहरूमा दीप बालेर सर्वत्र उज्यालो पार्छन् । कार्तिक कृष्ण अमावास्याको एक दिन अघि कार्तिक कृष्ण चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ । अतीतमा एक जना नरकासुर नाम गरेका असुर राजाले सारा सृष्टिमा आफ्नो आधिपत्य जमाई देवताहरूलाई बन्दी बनाएका थिए रे ।

भगवान्ले यही कार्तिक कृष्ण अमावास्याको दिनमा नरकासुरको वध गरी सारा देवताहरूलाई स्वतन्त्र गरी भयमुक्त बनाइदिनु भएकोले यो दिनलाई नरक चतुर्दशी भनिएको मान्यता छ । यसै गरी दैत्यहरूका राजा बलिले पनि सारा भूमण्डललाई नै आफ्नो वशमा पारी धन सम्पत्तिकी अधिष्ठात्री देवी लक्ष्मी सहित सम्पूर्ण देवी देवताहरूलाई बन्दी बनाई कारागारमा कैद गरी राखेका थिए ।

भगवान्ले बली राजामाथि विजय प्राप्त गरी सम्पूर्ण देवी देवताहरूका साथै श्री लक्ष्मीलाई पनि यही कार्तिक कृष्ण अमावास्याको दिन कारागार मुक्त गरी बलि राजालाई पाताल लोकमा निर्वासित गरिदिनु भएकोले यसैको स्मृतिमा दीपावली मनाउन थालिएको हो भन्ने पौराणिक आख्यान पाइन्छ ।

कार्तिक कृष्ण अमावास्याको रात्रीलाई कालरात्रि पनि भनिन्छ । फाल्गुण कृष्ण अमावास्यालाई परमात्मा शिवको पृथ्वीमा अवतरण भएको दिन शिवरात्रि भनिन्छ अनि आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ दिनलाई नवरात्री भन्ने गरिन्छ । नवरात्रीमा नवदुर्गा देवीको पूजा आजा गरेर असत्य शत्रु पक्षमाथि विजय प्राप्त गर्न शक्तिको आराधना गर्ने गरिन्छ ।

शिवरात्रिमा परमात्मा शिवको यस धर्तीमा अवतरणको उपलक्ष्यमा रातभर जागरण बसी परमात्मा शिवको आराधना गरिन्छ । अनि कालरात्रि अर्थात् कार्तिक कृष्ण अमावास्याको रात तान्त्रिकहरू तन्त्रोक्त विधिद्वारा आफ्नो मन्त्र सिद्धि प्राप्तिको लागि देवीको आराधना एवं पूजा गर्ने गर्दछन् । उनीहरूको मान्यता छ कि यो रातमा देवीको तन्त्रोक्त विधिद्वारा साधना एवं पूजा गर्नाले मनोवाञ्छित मन्त्र–सिद्धि प्राप्त गर्न सकिन्छ । कालरात्रिमा शक्तिको उपासना गर्नाले धनधान्य एवं सुख सौभाग्य प्राप्त हुन्छ, शत्रुको विनाश हुन्छ भन्ने मान्यता छ ।

दीपावलीको रातलाई महारात्रि पनि भन्ने गरिन्छ । कलियुगको यो अन्तिम खण्ड घोर अज्ञानको समय हो, अन्धकार रात्रि समान । यही बेलामा परमपिता परमात्माले उपदेश गर्नुभएको राजयोगको साधना गर्नाले सम्पूर्ण दैवी गुणहरूरूपी परम सिद्धि प्राप्त भई भावी सत्ययुगमा अखुट धन सम्पत्ति एवं सुख सौभाग्य प्राप्त हुन्छ । जो यस समयमा अल्छी भएर राजयोगको साधनाबाट वञ्चित रहन्छ ऊ सौभाग्य एवं धन सम्पत्तिकी देवी श्रीलक्ष्मीको आशीर्वादबाट पनि वञ्चित नै रहन्छ ।

परमपिता परमात्मा शिव बाबा आफ्ना प्रिय बच्चाहरूलाई सम्झाउनु हुन्छ– मिठे बच्चे, तिमीहरूको आत्मामा त्रिसट्ठी जन्मदेखि काम,क्रोध, लोभ, मोह र अहंकाररूपी पाँच विकारहरूको मयल जमेको छ । जबसम्म आत्मामा जमेको यो मयललाई निकालेर फ्याँक्दैनौ तबसम्म तिमीहरू पवित्र एवं शुद्ध बन्न सक्दैनौ र लक्ष्मी नारायणको राज्यमा प्रवेश पाउन सक्दैनौ ।

अतः यदि श्री लक्ष्मीलाई आफ्नो घरमा स्वागत गर्न चाहन्छौ र लक्ष्मी नारायणको राज्यमा प्रवेश चाहन्छौ भने आफ्नो जीवनमा दैवीगुणहरूलाई धारण गर्नु अति आवश्यक छ । तसर्थ यस अज्ञानान्धकारयुक्त कलियुगी कालरात्रिमा परमात्माद्वारा प्रदान राजयोगको साधना गर्नाले एवं सर्वत्र सबैमा ज्ञान ज्योति बालेर ज्ञानको प्रकाश छर्नाले अब आउने एक्काइस जन्मसम्म देवपद पाई स्वर्गीय सुख सौभाग्य एवं अतुल सम्पत्ति प्राप्त हुनेछ ।

दीपावली चाड अति नै रमाइलो तथा उज्ज्वल पर्व हो । यस पर्वमा सबैले आ–आफ्ना घर–आँगनलाई सजाएका हुन्छन् । सरसफाइका दृष्टिले बेला–बेला सरसफाइ गर्न प्रेरणा दिने यस्ता उत्सव हुनु अति नै खुसीको कुरा हो । जसरी बाहिरी अन्धकारले हामीलाई हानी गर्दछ, त्यो भन्दा बढी हानिकारक हुन्छ हामीभित्रको अन्धकार । हामीभित्रका अन्धकार पक्ष भनेका काम, क्रोध, लोभ, मोह, अहङ्कार, शङ्का, भय आदि हुन् ।

जबसम्म हामीभित्र यस्ता अन्धकार पक्ष रहिरहन्छन् तबसम्म साँचो शान्ति पाउन सकिँदैन । साँचो सुख शान्ति प्राप्त गर्नका लागि हामीले यस्ता अन्धकारलाई हटाएर गुणको धारण गर्न सक्नुपर्छ ।

दैवी गुण धारण गर्नका लागि हामीले आफूmलाई ज्योति बिन्दु आत्मा सम्झिएर ज्योति स्वरूप परमपिता परमात्मालाई याद गर्नुपर्दछ । यसो गर्दा हामीभित्रको कमी कमजोरी नष्ट हुँदै जान्छ । जब मन निर्विकार बन्दै जान्छ तब भित्री खुसी प्राप्त हुन थाल्दछ । यसरी भित्रैबाट शुद्ध निर्मल बनेपछि हामी बन्धनमुक्त बन्दछौँ अनि मात्र हामी आन्तरिक खुसीको दीपावली मनाउन समर्थवान् बन्न सक्छौँ ।

हाम्रो धार्मिक धरोहरको रूपमा रहेको यस दीपावली पर्वले हामी सबैलाई आफ्नो वातावरण स्वच्छ, सफा र सुमधुर राख्न प्रेरणा र प्रोत्साहन दिन्छ । घरको कुनै कुना पनि फोहर–मैला रह्यो भने स्वच्छताकी देवी लक्ष्मीको आगमन हुँदैन भन्ने विश्वास अनुरूप सबै सर–सफाइमा तल्लीन हुन्छन् । यो हाम्रो प्रयासले घर–घर मात्र होइन बाह्य वातावरण पनि स्वच्छ हुन पुग्छ भगवान्लाई पनि त्यो स्थान प्रिय हुन्छ जुन स्वच्छ, पवित्र र दिव्य हुन्छ । स्वच्छता लक्ष्मीको पनि मन पसन्दको विषय हो ।

जहाँ स्वच्छता हुन्छ त्यहाँ देवी–देवताको वास हुन्छ । देवीलाई प्रसन्न गर्न भए पनि टोल समाजको सर सफाइ गर्नु प्रशंसनीय कार्य हो । अस्वच्छता र गन्दगीबाट समाजमा जुन प्रतिकूल प्रभाव पर्छ त्यो ज्यादै भयावह हुन्छ । अस्वच्छताकै कारण मलेरिया, हैजा जस्ता महामारी रोग फैलिन्छन् । घर–समाज स्वच्छ राख्नु साह्रै सराहनीय कार्य हो तर त्यसभन्दा पनि प्रशंसनीय कार्य मानव स्वयम् भित्रको स्वच्छता हो ।

लक्ष्मीपूजाको अवसरमा बाह्य रूपमा त सफाइ गरिन्छ तर भित्र–भित्रै ईर्ष्या, द्वेष, घृणाको जलन छ, पर चिन्तन–पर दर्शन–परमतको आशक्ति छ,विषय–विकारको राग छ भने के त्यहाँ लक्ष्मीको आगमन हुन्छ ? कदापि हुँदैन । अतः आन्तरिक स्वच्छता, मनको स्वच्छता र आत्माको स्वच्छता महत्त्वपूर्ण पक्ष हो । बाह्य स्वच्छताको लागि पनि आन्तरिक स्वच्छताको भूमिका बढी प्रभावकारी रहन्छ । दीपावली दुवै स्वच्छताको पर्याय पर्व हो ।

भैलो–देउसी आदिको आफ्नै पहिचान छ । देउसी भैलोको नाममा समेत विकृति मौलाएको आभास पाइन्छ आजभोलि । जुन पवित्र उद्देश्यले देउसी भैलो खेल्नु पर्नेमा युवा जमात दुर्व्यसनको सिकार भएका घटनाहरु समाजमा घटिरहेका हुन्छन् । संस्कृतिको जगेर्ना गर्नुपर्छ यो राम्रो पक्ष हो तर आजभोलि देखासिकी घोडवाजी र पैसाका लागी मात्र प्रतिस्पर्धा भएको हो की?

अर्कोतिर आफ्नो भाग्यलाई अजमाउन कैयौँ व्यक्तिहरू जुवा –तास आदि खेल्ने प्रयास गर्छन् । जुवाबाट घरवारको नाश र जीवन वनवासका तिता सत्यहरु नभएका होइनन् अनि सरकारले समेत अवैध मानेर रोक लगाए तापनि मानिसहरू जुवा–तास खेल्ने दुष्प्रयास गर्छन् । प्रायः यस बेला जुवा खेल्न प्रेरित गरिन्छ र यदि खेलेन भने अधम गति प्राप्त हुन्छ भन्ने गरिन्छ ।

यस सन्दर्भमा हेर्दा जुवाको धार्मिक र आध्यात्मिक गहन रहस्य वर्तमान जुवा भन्दा बेग्लै छ । यस रहस्यलाई बुझ्ने हो भने यसमा गहिरो मानव सेवा समाहित छ । हामीसँग भएको तन–मन–धनको केही अंश मानव सेवा, समाज सेवा, ईश्वरीय सेवा अर्थ दाउमा लगाउँछौ जुन कालान्तरमा पुण्य कर्मको रूपमा कैयौँ गुणा बढी भई आफैलाई प्राप्त हुन्छ । यो श्रेष्ठ कर्म हो, प्रारब्ध कर्म हो, सञ्चित कर्म हो ।

लक्ष्मीको पूजा र आव्हान गर्देगर्दापनि व्यक्ति, समाज, संसार दिन–प्रतिदिन विपन्न हुँदै छ । समय–प्रति समय आउने प्राकृतिक प्रकोप र आपद्–विपदबाट विकसित राष्ट्रहरू समेत भयभीत र त्रसित छन् । सेकेन्डमा धन–जन समाप्त हुन्छ (कोरोना कहर एक ज्वलन्त उदाहरण) । करोडपति पलभरमा रोडपति बन्छन् । शाश्वत सत्य रूपमा गहिरिएर विचार गर्ने हो भने हामी यही भेटाउँछौ — ती लक्ष्मी जसको हामी आह्वान गर्छौ तिनको बाह्य पूजा–पुकार त गर्छौँ तर वहाँमा भएका लक्षण, धारण गरेका ज्ञान, गुण, सीप हामी धारण गर्दैनौँ ।

लक्ष्मी सत्यताकी देवी, दिव्यताकी देवी, पवित्रताकी देवी, सतोगुणकी देवी हुन् तर सतोगुण अपनाएका छैनौँ । लक्ष्मी सर्व इन्द्रियकी रानी, वैकुण्ठकी रानी,स्वर्गकी महारानी, र श्री नारायणकी विश्व महारानी हुन् तर हामी आफ्नै इन्द्रियका राजा,रानी बन्न सकेका छैनौँ । यस वसुन्धरामा जब अलकापुरी,स्वर्ग पुरी, वैकुण्ठ पुरी हुन्छ तब श्रीलक्ष्मी साकार रूपमा पञ्चतत्वको काया धारण गरी आउँछिन् ।

हामीले द्वापर र कलियुगमा गरेको आह्वान त्यहाँ साकार हुन्छ । वैकुण्ठ सामान्य संसार होइन त्यो त धन–दौलत, वस्तु–वैभव, समृद्धि–सम्पन्नता आदि सबैबाट परिपूर्ण, भरिपूर्ण र सम्पूर्ण संसार हो । सर्वगुण सम्पन्न,१६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी,अहिंसा परमोधर्म जस्ता गुण, मूल्य र विशेषताले विभूषित देवलोक हो । जहाँ बाघ र गाई सँगै पानी पिउँछन्,दूध घ्यूको नदी बग्छ (प्रर्याप्तहुन्छ), वसन्त बहार प्रकृति हुन्छ । जहाँ ज्ञान विज्ञानको अद्भुत विकास र मिलन हुन्छ,सुख–शान्ति–खुसीका सहनाई बज्छन् ।

यहाँका दुःख, कष्ट पीडा जस्ता नकारात्मक शब्द, कर्म,संस्कार को नाम निशान नै हुँदैन । स्रष्टाले सिर्जना गरेको अकल्पनीय,अवर्णनीय र अतुलनीय संसार वैकुण्ठ पुरी हो । त्यहाँ कुनै पूजा हुँदैनथ्यो स्वयम् पूज्य थिए,त्यहाँ कुनै भक्ति हुँदैनथ्यो स्वयम् भगवान्–भगवती (देवी–देवता) थिए, त्यहाँ कुनै कसैको आह्वान हुँदैनथ्यो स्वयम् साकारमा थिए । त्यहाँ कतै तीर्थाटन गर्न जानु पर्दैनथ्यो सम्पूर्ण जगत् नै तीर्थस्थल थियो । त्यहाँको गङ्गा–जल गुलाब–जल समान थियो।

संसार परिवर्तन शील छ । संसारको गति निकै परिवर्तन भएको छ । आज चारैतिर फोहर–मैला–गन्दगीका नाला देखिन्छन् । बागमती–विष्णुमती ढलमती बनेका छन्, प्रदूषणले आकाश छोएको छ, विषय–विकारको ज्वाला दन्किएको छ, अन्याय–अत्याचार–भ्रष्टाचारको बजार गरम छ । दुःख, पीडा र रोगको स्थिति कहालीलाग्दो छ । यसैले यो रौरव नरक समान बनेको छ । मानवको उत्थान एवं विकासको पराकाष्ठा देवलोक हो भने उसको पतनको अन्त्य कुम्भींपाक नरक हो ।

अब हामी सबैले आफ्नो उठान र समाज उत्थान बारे सोच्नुपर्ने बेला आएको छ । दीपावलीमा स्वच्छता अपनाउनु, दीप–जलाउनु, लक्ष्मीको आह्वान गर्नु राम्रो पक्ष हो तर लक्ष्मीका जस्ता ज्ञान–गुण–शक्ति–लक्षण धारण गरेर उहाँ समान पूज्य र पावन बन्नुसर्वोत्तम लक्ष्य हो । लक्ष्मीपूजा,दीपावलीले हामीलाई यही सन्देश दिन्छ, प्रेरणा दिन्छ । भनिन्छ—परिस्थितिले पुरुषको जन्म दिन्छ जो परिवर्तनको संवाहक बन्दछ । आजको कहालीलाग्दो स्थितिबाट मुक्त गरेर मुक्ति र जीवन मुक्तिको पथ–प्रदर्शकको महत्त्वपूर्ण भूमिका केवल मुक्तेश्वर निराकार शिव परमात्माले मात्र गर्न सक्नुहुन्छ ।

खुसीको कुरा उहाँको दिव्य अवतरण यही दिव्य कार्यको लागि यस धरामा भएको छ । उहाँ नै देवात्मा, धर्म–आत्मा, महान्–आत्मा, पाप–आत्मा सर्वका सद्गति दाता, पारलौकिक पिता हुनुहुन्छ । उहाँको दिव्य सन्देश लिएर निरन्तर उहाँको स्मृति गर्दै रहेमा हाम्रो दूषित मन स्वच्छ हुन्छ, हाम्रो आत्म–दीप प्रज्वलित हुन्छ,तेस्रो नेत्र खुल्छ ।

यसरी सम्पूर्ण आत्म–दीप जागृत हुँदै गए, आसुरी शक्ति माथि दिग्विजय प्राप्त गर्दै गए भने जगतबाट अन्धकार (तमो प्रधानता हट्दै जान्छ र झिलिमिली उज्यालो छाउँदै जान्छ । सबै असत्यबाट सत्यता तिर अग्रसर हुँदै जान्छन् अनि आत्माहरू बिस्तारै मृत्यु लोकबाट अमर लोक तिर स्थानान्तर हुँदै जान्छन् । जहाँ लक्ष्मी–नारायणको अटल, अखण्ड, निर्विघ्न राज्य हुन्छ । उनको राज्यारोहण, राज्याभिषेक बडो आकर्षक, भव्य र सुन्दर हुन्छ ।

त्यस विजय उत्सवमा जुन खुसीयाली, शोभावली,सजावली र दीपावली हुन्छ त्यो कल्पकै सर्वोत्तम हुन्छ । त्यसैको पर्यायको रूपमा आजसम्म हाम्रो परिप्रेक्ष्य र सन्दर्भमा दीपावली प्रस्तुत गरिरहेकाछौं, मनाउँदै छौ । आज हामी सङ्गमको सुन्दर प्रहरमा छौँ । सङ्गममा रहेर हामी एक छुट्टै,अलग्गै, भिन्नै दीपावली मनाउँदै छौँ । हामी पहिले स्वयम्को आत्म–दीप बाल्दै छौँ अनि सबै आत्माको । संसारका सबै आत्म–दीप झिल–मिल,झिल–मिल गरी जले भने त्यो घडी कति चमत्कारिक होला ? यस्तो सुन्दर दीपावली मनाऔँ ।

उपरोक्त आध्यात्मिक रहस्यहरुलाई बुझेर चाडपर्व मनाउनुमा सार्थकता होला। संस्कृति र परम्पराको नाममा हुने गरेका विकृति र विसङ्गतिलाई समय सापेक्ष सुधार्दे लैजाऔँ र राम्रा पक्षलाई जगेर्ना गर्दे समुन्नत समाज निमार्णमा योगदान दिने गरौँ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? समयको पुकारलाई सुनौँ र त्यही अनुसार रुपान्तरण हुन सिकौँ ।

अतः दीपावलीको यस पुनित अवसरमा सबैको आत्म–दीप जागृत होस्,सबै स्वच्छ बनुन्, सबै निरोगी बनुन्, सबै सम्पन्न होउन्, चारैतिर समृद्धि छाओस् । अन्त्यमा,शुभ दीपावली, भाइटिका,छठ पर्व र नेपाल संवत्को शुभ मुहूर्तमा सम्पूर्ण आत्माहरूको उत्तरोत्तर प्रगति,समृद्धि,सुख,शान्ति,सुस्वास्थ्यको मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ॐ शान्ति ।

Tags :
प्रतिक्रिया दिनुहोस