स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको तयारी


१२ कार्तिक २०७८, शुक्रबार


दमौली । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तनहुँका स्थानीय तहमार्फत् परिचयपत्र विवरण सङ्कलनको तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आएकामा अब स्थानीय तहबाट पनि सङ्कलनको व्यवस्था मिलाउन लागिएको हो ।

विभागले आज दमौलीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतहरुसँग आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा महानिर्देशक तीर्थराज भट्टराईले चाँडै नै स्थानीय तहमा केन्द्र स्थापना गरी कार्य सुरु गरिने जानकारी दिए । हाल २० वटा जिल्लामा तथ्याङ्क सङ्कलनको काम सकिएको र ११ वटा जिल्लामा अन्तिम चरणमा पुगेको उनले बताए ।

सरकारका सबै सेवा राष्ट्रिय परिचयपत्रका आधारमा प्रवाह गर्ने लक्ष्य बमोजिम जिल्लाका दश वटै स्थानीय तहबाट विवरण सङ्कलनको व्यवस्था मिलाउन लागिएको उनले बताए । ‘तनहुँमा चाँडै नै स्थानीय तहबाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम सुरु हुन्छ, यसमा सबै स्थानीय तहबाट सहयोगको अपेक्षा गरेका छौ,’ उनले भने ।

विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालका अनुसार स्थानीय तहका सबै वडामा दर्ता अभियान सञ्चालन गरिनेछ । त्यसका लागि एउटा वडामा दुई देखि ६ वटासम्म स्टेशन स्थापना गरिनेछ । जनसङ्ख्याका आधारमा स्थापना हुने केन्द्रबाट दैनिक बढीमा ४० वटासम्म विवरण सङ्कलन गर्न सकिनेछ । एउटा वडामा काम सम्पन्न गर्न १५ दिन लाग्ने अनुमान गरिएको छ ।

विभागले पहिलो चरणमा व्यास नगरपालिकाबाट यो अभियान शुरु गर्ने लक्ष्य राखेको छ । “वडा कार्यालय, नागरिकलाई पायक पर्ने र सुरक्षित ठाउँमा स्टेशन स्थापना गर्छौ,’ढकालले भने ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले राष्ट्रिय परिचयपत्रको महत्व रहेकाले यो अभियान सफल बनाउन स्थानीय तहको भूमिका रहने बताए । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले यो अभियानमा स्थानीय तहको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय परिचयपत्र लिइसकेपछि त्यसकै आधारमा सहजै सेवा लिन पाउने व्यवस्था मिलाउने सरकारको लक्ष्य छ । विद्युतीय प्रणालीमार्फत् सबै नागरिकको डिजिटल अभिलेख तयारी गरी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा, शान्तिसुरक्षा र विकास निर्माणमा आबद्ध गर्दै सुशासन प्रवद्र्धनमा सघाउ पुर्‍याउने कार्यक्रमको दुरदृष्टि रहेको छ । सबै व्यक्तिको वैयक्तिक तथा जैविक विवरण राखी प्रत्येक नेपाली नागरिकलाई नदोहोरिने गरी १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिनेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

हाल प्रशासन कार्यालयमा स्थापना गरिएको दुई वटा केन्द्रबाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा विसं २०७६ साउन ६ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि दुई वटा केन्द्र स्थापना गरिएको छ ।

प्रशासन कार्यालयबाट नागरिकता बनाए लगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस