१० बुँदे कार्यान्वयन कार्यदल संयोजकबाट भीम रावलले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१० बुँदे कार्यान्वयन कार्यदल संयोजकबाट भीम रावलले दिए राजीनामा


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको रावलले बताए ।

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनु कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।

गत असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो । एमाले विभाजन हुने क्रममा सोही कार्यदलमा टेकेर तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरू एमालेमै रहेका थिए । तर, उक्त सहमतिलाई पछिल्लो समय अध्यक्ष ओलीले नै औचित्यहिन बताउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस