वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार


५ कार्तिक २०७८, शुक्रबार


सिमकोट । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो ।

अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समितिका कर्मचारी मर्मत सम्भारमा लागि परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार खानेपानीको मुहान मर्मत गर्न अझै एक हप्ता बढी लाग्ने भएको छ । यसैगरी अविरलको वर्षाले खानेपानी तथा सिँचाइका संरचना बाढीले बगाएपछि खार्पुनाथ गाउँपालिका–२ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका–१ का २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन् ।

सिमकोट– १ कुम्लिङ गाउँका ती घरपरिवारले प्रयोग गर्दै आएको खानेपानीको संरचनालाई मङ्गलबार राति आएको बाढी पहिराले बगाएको थियो । अहिले खोलामा बगिरहेको धमिलो पानी पिउन बाध्य भएको स्थानीयवासी अविराज हमालले बताए ।

खानेपानी, सिँचाइसँगै करिब पाँच हल खेतीयोग्य जमिन बगाएको उनले जानकारी दिए । खार्पुनाथ– २ थालीका स्थानीयवासीलाई खानेपानी लिनका लागि गाउँभन्दा टाढा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय मुनसिङ्गे दमाईंले बताए ।

उनले भने, ‘गाउँमा निर्माण भएका धारामा पानी आउँदैन, पानी आउने मुख्य मुहान नै बाढीले बगाएको छ । यहाँका ३० घरपरिवारले खानेपानी ल्याउनका लागि गाउँ नजिकका खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था छ । ‘

Tags :
प्रतिक्रिया दिनुहोस