काठमाडौँ । तालिबानले अन्तिम समयमा रोक्दा अफगानिस्तानको काबुलमा अलपत्र परेका ३२ नेपाली स्वदेश फर्किनबाट वञ्चित भएका छन् ।
रोजगारीका लागि अवैधानिक तरिकाले अफगानिस्तान पुगेका ३४ नेपालीमध्ये दुई जना भने बुधबार काठमाडौँ ओर्लिएका छन् । भिसाको म्याद सकिएको पाइएकाले अरूलाई विमानस्थलबाट फर्काइएको छ ।
तालिबानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता उनीहरू काबुलमा अलपत्र थिए । ८ ठाउँमा छरिएर रहेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर एक ठाउँमा जम्मा पारेको थियो ।
महिनौँदेखि उनीहरू सबै अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय निकायलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आइडीजीको संरक्षणमा छन् ।
आईडीजीले नै उनीहरूलाई चार्टर्ड विमानबाट काठमाडौँ पुर्याइदिने आश्वासन दिएको थियो । राष्ट्रसङ्घीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बिदामा काठमाडौँ आउने भएपछि उनीहरूसँगै अलपत्रहरूलाई पनि ल्याउने तयारी गरिएको थियो ।
दिल्लीस्थित नेपाली नियोगका निमित्त प्रमुख रामप्रसाद सुवेदीले महिनौँदेखिको प्रयास अन्तिम समयमा सफल हुन नसकेको बताए । ‘विमानस्थलमा रहेका तालिबानी अथोरिटीले भिसाको म्याद सकिएकालाई रोक्यो,’ उनले भने, ‘उहाँहरूका लागि फेरि प्रयास थालिएको छ । आइडीजीमार्फत नै हामी निरन्तर सम्पर्कमा छौँ ।’
जरिवाना तिरेर भिसाको प्रक्रिया पूरा गरिएपछि अर्को कुनै उडानबाट नेपाल ल्याइने तयारी रहेको उनले जानकारी दिए । आईडीजीले पनि अलपत्र परेकाहरूलाई नेपाल पुर्याउन प्रतिबद्ध रहेको दूतावासका अधिकारीलाई बताएका छन् ।
नेपाल सरकारले उनीहरूलाई नेपाल ल्याउन लाग्ने खर्चको सोध भर्ना गर्ने प्रतिबद्धता आइडीजीलाई दिएको छ ।