खोप नलगाएको समूह कोभिडको उच्च जोखिममा, बालबालिकाले परिवारमै दसैँ मनाउन चिकित्सकको सुझाव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खोप नलगाएको समूह कोभिडको उच्च जोखिममा, बालबालिकाले परिवारमै दसैँ मनाउन चिकित्सकको सुझाव


२९ आश्विन २०७८, शुक्रबार


महिला-बालबालिका

काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप नलाएको समूह सङ्क्रमणको जोखिममा रहेको चर्चा चलिरहेको छ । बालबालिका र खोप नलगाएको समूह कोभिड १९ को तेस्रो लहरमा बढी जोखिममा पर्ने चर्चा चलिरहँदा विज्ञहरूको पनि यही समूह बढी जोखिममा रहेको विश्लेषण छ ।

कोभिड-१९ विरुद्धको खोप पाउने लक्षित समूहमा बालबालिकाहरू नपरेकाले तेस्रो लहरको जोखिममा पर्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षित जनसङ्ख्याको ४२ प्रतिशतले कोभिड विरुद्धको एक मात्रा खोप लगाएका छन् । जनसङ्ख्याको ३२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । तर, बालबालिकाले खोप लगाएका छैनन् । बालबालिकाको लागि खोप अध्ययन कै क्रममा छ ।

चाडपर्वको समयमा बालबालिकाहरू घरबाट बाहिर हिँडडुल गर्ने तथा अन्य भिडभाडजन्य स्थानमा सहभागी हुने सम्भावना बढी रहन्छ । यस्तो अवस्थामा उनीहरूमा सङ्क्रमण सर्ने खतरा रहन्छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दसैँ मनाउँदै गर्दा व्यक्तिगत सावधानीमा विशेष ध्यान दिनुपर्ने र बालबालिकामा मास्कको सही प्रयोगका लागि विशेष ध्यान प¥याउनु पर्ने बताए ।

कोरोना सङ्क्रमणको अवस्था पत्ता लगाउन सरकारले गरेको सेरो प्रिभिलेन्स अध्ययनमा चार वर्षसम्मका बालबालिकामा ५५ र ४ देखि १५ वर्षका बालबालिकामा ६० प्रतिशत मात्र एन्टीबडी विकास भएको पाइएको थियो । यो अध्ययनले बालबालिकामा तुलनात्मक रूपमा एन्टीबडी कम विकास भएको देखाएको छ । यसले स्वाभाविक रूपमा बालबालिकाहरू तेस्रो लहरमा बढी जोखिममा पर्ने भनिएको छ ।

अर्कोतर्फ १८ वर्ष मुनीका बालबालिका र किशोर किशोरीले कोभिड विरुद्धको खोप लगाएका छैनन् । खोप नलगाएका कारण उनीहरू सङ्क्रमणको उच्च जोखिममा छन् । सरकारले बालबालिकाका लागि कोभिड १९ विरुद्धको फाइजर र मोर्डना खोप ल्याउने तयारी गरेको छ ।

करिब एक करोड डोज खोप खरिदका लागि प्रक्रिया अघि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त खोप पुस/माघसम्म आउन सक्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । त्यो भन्दा अगाडी करिब एक लाख डोज खोप परीक्षणका लागि ल्याउन लागिएको छ ।

एक आपसमा भेटघाट गरेर खुसी साटासाट गरेर मनाउने पर्व दसैँ बालबालिका लागि विशेष हुने गर्दछ । तर, कोभिडको जोखिमका कारण बालबालिकाले खुलेर यो पर्व मनाउन सकिरहेका छैनन् । घुलमिल र भेटघाटले कोरोना सर्न मद्दत पुग्ने भएका कारण पनि बालबालिकाले खुलेर पर्व मनाउन नपाएका हुन् । खोप नलगाएको समूह पनि बालबालिका नै रहेकाले दसैको भिडभाड र जमघटले उनीहरू बढी जोखिममा छन् ।
सिज्नल फ्लु र कोभिड सँगसँगै

पछिल्लो समय बालबालिकामा सिज्नल फ्लु पनि देखा परेको छ । कोभिड पनि सिज्नल फ्लुसँग मिक्स भएर आएको चिकित्सकहरू बताउँछन् ।
ठुलो मानिसमा रुघा खोकी लागेर बालबालिकामा सरेको छ भने यसलाई सिज्नल फ्लुका रूपमा शङ्का गर्न सकिने, तर अहिले सिज्नल फ्लु र कोभिड मिलेर आउने भएकाले बालबालिकामा रुघा, खोकी, ज्वरो आएको अथवा हातखुट्टा सुनिएको छ भने कोभिडको परीक्षण गर्नु पर्ने कान्ति बाल अस्पतालका चिकित्सक एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा अजित रायमाझीले बताए ।

‘अभिभावकमा कोभिडको लक्षण छ भने चेकजाँच गर्नु पर्छ । अभिभावक आइसोलेसनमा बस्नु पर्छ’ उनले भने, ‘अन्य उमेर समूहका व्यक्तिमा भन्दा बालबालिकामा कोभिडको लक्षण कम देखिन्छ । बालबालिका सङ्क्रमित भए पनि धेरै निको हुन्छन् । कोभिड लागेर गम्भीर भएका बालबालिकालाई अस्पताल पु¥याउन ढिला भयो भने मृत्यु हुनसक्छ ।

नेपाल सरकारले कोभिड सङ्क्रमित १० दिन आइसोलेसनमा बस्नुपर्ने नियम बनाएको छ । लक्षण छैन भने परीक्षण नगर्दा पनि हुन्छ । तर, बालबालिकालाई दुई दिन ज्वरो आयो भने परीक्षण गर्नु पर्छ ।

यस्तो छ अस्पतालको पूर्व तयारी

निर्देशक डा. रायमाझीका अनुसार दसैँपछि बढ्न सक्ने सङ्क्रमणलाई मध्यनजर गरेर कान्ति बाल अस्पतालले पूर्व तयारीमा लागेको छ । तेस्रो लहरमा खोप नलगाएका बालबालिका बढी प्रभावित हुने भनिएकाले अस्पताललाई २५ वटा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला प्राप्त भएको छ ।

कान्ति बाल अस्पतालले कोभिड सङ्क्रमित भएका बालबालिकालाई आइसियुमा राखेर उपचार गर्ने गरेको छ । अस्पतालमा पीसीआर नेगेटिभ भएका बिरामीका लागि ५२ बेडको नर्मल आइसियु रहेको छ भने कोभिड सङ्क्रमित बालबालिकाका लागि ५१ बेडको आइसियु रहेको छ ।
कोभिड पोजेटिभ बिरामीका लागि लेबल सीमा ४ वटा भेन्टिलेटर सहितको आइसियु छ । आई भी प्यानुला र अक्सिजन दिनु पर्ने बिरामीका लागि

हाइडिपेन्डेनड युनिट भने र २५ बेडको व्यवस्था छ । लेबल बिमा बाँकी कोभिडका बिरामीको उपचार हुने गरेको निर्देशक डा रायमाझीले बताए । त्यहाँ कन्सल्टेन्टको टिमले उपचार गर्छ । लेबल थ्री पिपिई लगाएर उपचार गर्ने गरिन्छ ।

निर्देशक रायमाझीले यो वर्ष पनि परिवार भित्रै मात्र दसैँ मनाउन आग्रह गरेका छन् । बाहिर घुमफिर गर्ने विषयलाई निरुत्साहित गरेमा बालबालिका कोभिड १९ को सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस