काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति दिएको छ ।
धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी मुलुकका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
डब्ल्युएचओले खोपको स्वीकृतिलाई ऐतिहासिक सफलता भनेको छ । अफ्रिकामा मलेरियाका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने गरेको छ ।
आरटिएस–एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको भए पनि खोपले बल्ल स्वीकृति पाएको हो ।
डब्लुएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमण दर उच्चदेखि मध्यम रहेका अरु क्षेत्रमा पनि खोप लगाउन सकिने बताएको छ ।
डब्लुएचओका प्रमुख डा. ट्रेडरोस आह्नोम गेब्रेयेसस्ले बालबालिकामा मलेरियाविरुद्धको खोपले स्वीकृति पाउनु विज्ञान, बाल स्वास्थ्य र मेलेरिया नियन्त्रणका लागि कोशेढुंगाा साबित हुने बताएका छन् ।
सन् २०१९ मा मलेरियाका कारण अफ्रिकामा दुई लाख ६० हजारभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।
विश्वमा हरेक वर्ष २२ करोड ९० लाख मानिस मलेरियाबाट संक्रमित हुने गरेका छन् भने त्यसमध्ये ९४ प्रतिशत संक्रमित अफ्रिकीहरू हुने गरेका छन् ।