दसैँ नजिकिएसँगै बजार अनुगमन तिव्र, दुई पसललाई जरिवाना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दसैँ नजिकिएसँगै बजार अनुगमन तिव्र, दुई पसललाई जरिवाना


२० आश्विन २०७८, बुधबार


भक्तपुर । दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज भएको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो बजारी गर्ने दुई पसललाई कारबाही गरी २० हजार जरिवाना लगाइएको अनुगमन टोलीका सहभागी एवं सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिए ।

त्यसैगरी म्याद नाघेको घ्यू, विभिन्न ब्राण्डका पेय पदार्थ, दही, बिस्कुट, क्यान जुस, जाम, अचार गरी रु १६ हजार बराबरको नष्ट गरिएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल झिङ्गा भन्केको, बासी र गन्हाउने मासु बिक्री गरेको पाइएको छ ।

भनपाको ब्रह्मायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको अनुगमनमा पशु बधशाला र मासु पसल न्यूनतम मापदण्ड पनि पूरा नभएको, दर्ता नगरेको, गन्हाउने मासु र सुकाएको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको अनुगमन निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस