राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो ।

पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए । उनका अनुसार ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् । यसैबीच पार्टी निकट ट्रेड युनियन महासङ्घले विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका पदाधिकारी तथा नेतागणको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस