हुम्लाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द


११ आश्विन २०७८, सोमबार


हुम्ला। यहाँको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द भएको छ ।

ट्याङ्की नजिकको नहरको पानी चुहिएर जमिन चिरा पारी पहिरो जाने जोखिम भएपछि विद्युत् उत्पादन बन्द गरिँदा आपूर्ति पनि बन्द गरिएको हो ।

विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले अनिश्चित समयका लागि विद्युत् आपूर्ति बन्द गरिएको बताए । उनले कुनै स्थानमा नहर पनि चिरा परेका कारण पानी आपूर्ति गर्दा झन् जोखिम बढ्ने भएकाले बन्द गर्नुको विकल्प नभएको उल्लेख गरे ।

यसअघि फर्बे नजिकको ओभर फ्लोको पाइपलाइन क्षेत्रमा पहिरो जाँदा केही दिन अगाडि विद्युत् सेवा अवरुद्ध भएको थियो । सो क्षेत्रमा ठुलो पहिरो गएको छ । त्यसको मर्मतका लागि काम सुरु गरिरहेका बेला नहर क्षेत्रमै पहिरो जाने जोखिम बढेपछि विद्युत् उत्पादन बन्द भएको हो ।

सो क्षेत्रको अनुगमन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नहर क्षेत्रमा ठुलै क्षति पुगेको कारण तत्काल विद्युत् आपूर्तिको सम्भावना नदेखिएको बताए । त्यसबाट दुई हजार ३०० ग्राहकले विद्युत् उपभोग गर्दै आएका छन् । विद्युत् आपूर्ति बन्द भएसँगै सिमकोट र खार्पुनाथ गाउँपालिका अँध्यारो भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस