नेपालमा समृद्धि कहिले आउला ? « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

नेपालमा समृद्धि कहिले आउला ?


२९ भाद्र २०७८, मंगलबार


जब म सानो बच्चा थिए, त्यति बेला देशमा खराब शासनव्यवस्था भएको र यो फालिहाल्नु पर्दछ, यो शासन व्यवस्था फालेपछि सबै ठिक हुन्छ भन्ने भाषण निकै सुनिन्थ्यो । आन्दोलन चलेको थियो। सांस्कृतिक कार्यक्रममा पनि यिनै र यस्तै गीत बज्थे। सामन्ती र बुर्जुवा शिक्षाको अन्त्य हुनुपर्ने गीत बाल बच्चाहरूको मुखमा गुन्जिरहन्थे। त्यस बेलाका बाल बच्चाहरू विद्रोह सिकिरहेका थिए। सबैलाई लागेको थियो त्यो शासन व्यवस्था गएपछि त नेपालमा गरिब गुरुबाका दिन चाडै नै आउनेछन्, किसानहरुहरुको जीवनस्तर उकासिने छ र समाज रामराज्य हुनेछ, देश समृद्ध हुने छ।

कठैबरा, आज देशमा एउटा मात्र हैन, धेरै व्यवस्था परिवर्तन भए, धेरै कुराहरू परिवर्तन भए तर, किसान र गरिब जनताको दिनहरू कहिल्यै फर्केर आएका छैनन्। विद्रोह सिकिरहेका बाल बच्चाहरू ठुलो भएका छन्। अराजकता बढिरहेको छ। बहुसङ्ख्यक जनता अभावै अभावमा यो जुनी फाल्ने छन्। यसरी कति जुनी जाने हो, थाहा छैन। तर यहाँ सबै देशको लागि काम गरिरहेका छन्। गरिब जनताको लागि काम गरिरहेका छन्। देश झन् झन् गरिब हुँदै छ। चरम अराजकता फैलँदै छ।लाग्छ देशमा समृद्ध कहिल्यै आउँदैन ।

के समृद्धि मृगतृष्णा हो त ? उत्तर हो अवश्य होइन। उसो भए किन समृद्धि आएन त ? के पन्ध्रौँ योजनामा उल्लेख गरे अनुसार २१०० सम्म नेपाल समृद्ध होला ? यस लेखनमा यसको विश्लेषण गर्ने जमर्को गरेको छु।

बि स २०२०–२०३० सालतिर नेपालको स्थिति राम्रो नै थियो, विकासमा लम्केको राष्ट्र गनिन्थ्यो, विकसित राष्ट्र गनिन्थ्यो। अहिले देश अति कम विकसित देशमा गनिएको छ। हामीलाई सहयोग गरिरहेको देश किन आज हामी आफै सहयोग गर्नु परेको छ भन्ने कुरा दातृ राष्ट्रहरुबाट नै आइ रहेका छन्। मुख्य त देशमा प्रणाली स्थापना हुन सकेको छैन। भद्रगोल र बेथिति बढिरहेको छ। छिटो छिटो हुने परिवर्तन र संस्थागत नहुँदै खोजिने फल साथै सही मान्छे सही समयमा सही ठाउँमा नहुँदा र नेतृत्वमा गैर जिम्मेवारी कुशल नेतृत्वको सुन्यता हुदा स्थिति बेहाल बनिरहेको छ।

हामी छिटो छिटो व्यवस्था परिवर्तन गरी रहेका छौँ, ७ दशकमा ६-७ पटक नै ठुला ठुला परिवर्तन आए । विभिन्न रूपमा हरेक दशकमा परिवर्तनहरू विभिन्न रूपमा देखा परेका छन्। हामीलाई लाग्दै छ व्यवस्था परिवर्तनले सबै ठिक हुन्छ तर यो होइन, व्यवस्थामा मात्र हुने परिबर्तनले केही हुने होइन यसले झन् अनिश्चितता बढाउँदछ। संसारमा थुप्रै व्यवस्था र प्रणाली भएका देशहरू छन्। एकै प्रणालीमा कोही समृद्ध छन् भने कोही अस्तव्यस्त छन्। त्यसैले व्यवस्था प्रणाली मात्र सबै थोक होइनन्।

व्यवस्था प्रणाली भनेको एउटा औजार हो, हिँड्ने साधन हो। हामी हरेक औजार साधन प्रयोग गर्न सक्छौ। मुख्य कुरा के हो भने औजार आफ्नो अनुसार ढाल्नु पर्दछ । हामीलाई फल दिने अनुसार त्यसको संरचना तयार गर्नु पर्दछ । हाम्रो अनुकूल बनाउनु पर्दछ। तर हामी हरेक व्यवस्था अङ्गाल्यौ। न त ती व्यवस्थाहरूको परिमाणको लागि पर्खेर हेरेऊ । न त हाम्रो समाज अनुसार तिनीहरूको अनुकूलता मिलाउने काम गर्‍यौँ । पक्रिनु हुने समयभन्दा अगाडी नै फल खोजी रहेका छौ र खोजी रहन्छौँ । जुन असम्भव हुन्छ।

प्रणाली र व्यवस्था भन्दा पनि देशमा कानुनको प्रयोगले देशमा समृद्धि लाउने हुन्छ। राम्रो राम्रो कानुन बनाउन सके देशलाई राम्रो दिशा प्रदान गर्दछ र न्यायपूर्ण समाजको सृजनाको लागि फाइन ट्युन प्रदान गर्दछ। अग्रगमन र विकासको मूल धारमा पछि परेकोलाई क्षति पूर्ति दिलाउने र सँगै सँगै हिँड्ने व्यवस्था गर्दछ।

देशमा कस्तो कानुन बन्दछ भन्ने कुरा त्यो देशको नेतृत्वमा भर पर्दछ,नेतृत्वहरूको क्षमतामा भर पर्दछ। नेतृत्वहरूको सपना के हो भने कुरामा भर पर्दछ। तर हामी देशले राम्रो नेतृत्व पायो भन्न सक्दैनौ, किन कि यहाँ थुप्रै बेथिति रहेको छ। चरम अराजकता रहेको छ।

समाजमा बेथिति किन भयो त ? यो प्रश्नको उत्तर खोज्नुभन्दा पनि पहिले समाजलाई के चिजले होल्ड गर्दछ ? भन्ने बुझ्नु अति नै आवश्यक हुन्छ । कुनै पनि समाजलाई होल्ड गर्ने भनेको त्यो समाजको संस्कार र सामाजिक मान्यताहरूले हो। यी तत्त्वहरू समाज सञ्चालनको सफ्टवेयर हुन्। अवश्य नै राम्रो सफ्टवेयरले राम्रो प्रदर्शन गर्दछ। राम्रो संस्कार र सामाजिक मान्यताहरूले समाज राम्रो बनाउँदछ। जब समाजमा संस्कार र सामाजिक मान्यताहरू भत्कँदै जान्छन्, परिवर्तन हुँदै जान्छन् समाज परि परिवर्तन हुँदै जान्छन् समाज पनि क्रमशः नराम्रोतिर जान्छ, अथवा परिवर्तन हुँदै जान्छ। यसको परिणाम सन्तुलन खलबलिन्छ। हाम्रो स्थिति यही सन्तुलन खलबलिएको छ।

नेपाली समाज राजनैतिक विघटन कारण, समाजमा भत्कँदै गएका संस्कार र सामाजिक मान्यताहरूका कारण सामाजिक बन्धन टुक्रिँदै छन्। यसले गर्दा व्यक्ति व्यक्ति बिच अविश्वासको वातावरण सृजना भइरहेको छ। जसको कारण थुप्रै बेथिति अराजकता बढिरहेको छ। यसको परिमाणहरू उग्र हुने अनुमान गर्न सकिन्छ।

हाल नेपालमा देखिएको कुरा के हो भने राजनीतिक र अन्य कारणले सामाजिक मूल्य मान्यताका तत्त्वहरूमा निकै परिवर्तन आएको छ। जसले समाजमा नकारात्मक असर परेको प्रस्ट हुन्छ। राजनीतिक रूपमा समाज विखण्डीकरण भएको छ, सामाजिक मूल्य मान्यता भन्दा पनि विकसित व्यक्ति केन्द्रित सिद्धान्तले व्यक्तिहरू अराजक बन्दै गई रहेका छन्। उनीहरू सामाजिक मूल्य मान्यता भन्दापनि व्यक्तिगत मूल्य मान्यतामा चली रहेको छन्। समाज त बहुसंख्यकहरुको हितको लागि चल्ने हो तर समाजलाई अराजक तत्त्वहरूले व्यक्तिगत चाहना अनुसार चलाइरहेका छन्। यसले समाजमा न त कानुनको प्रयोग राम्रोसँग हुन सकेको छ नत बहुलको अधिकार सुनिश्चित हुन सकेको छ। फलतः समाज अझ धेरै तरल बन्दै गइरहेको नाजुक बन्दैगइरहेको छ र मत्स्य न्यायको प्रयोग हुँदै छ। यस्तो अस्थिरतामा समृद्धि आस गर्नु मात्र हुन्छ।

यहाँ हरेक वर्ष हजारौँ मान्छे नैतिकताको द्विविधामा छन् र अर्को वर्ष विभिन्न परिस्थितिले नैतिकताको घेरा पार गरी अनैतिक बनिरहेका छन्। चाहे यो राजनैतिक शक्ति बा शक्तिको दुरुपयोगले होस् वा अभावले होस् यो क्रम दिन दुगुना रात चौगुना बढिरहेको छ।

यो सबै करेक्सन गर्ने भनेको शिक्षाले हो तर देशको शिक्षा प्रणाली काम नलाग्ने भैसकेको छ। शिक्षाले समाजलाई होल्ड गर्ने नर्म्स र मान्यता सिकाउने गर्दछ। शिक्षितहरू स्वतन्त्र बन्न सिकाउने गर्दछ र देशलाई चाहिने जनशक्ति उत्पादन गर्दछ। तर हाम्रो शिक्षाले त्यस्तो केही गरे जस्तो लाग्दैन। खालि बेरोजगार उत्पादन गर्दछ। एकातिर निपुण जनशक्ति को खाँचो छ भने अर्कोतिर बेरोजगार बढी रहेका छन्, ब्रेनड्रेनको समस्या उस्तै छ। त्यसैले जनशक्ति परिचालनको व्यवस्थापन र यस सम्बन्धी योजना बन्न सकेको लाग्दैन। जब देशमा जनशक्ति परिचालन राम्रो हुँदैन समृद्धि पाउन गाह्रो छ।

जनशक्ति मात्र होइन, देशमा अन्य स्रोत जस्तै बन जङ्गल, खनिज स्रोत, र नदीनाला आदिको समुचित प्रयोग हुन सकेको छैन। जमिनको उपयोग वैज्ञानिक छैन।बन जङ्गलको उपयोग वैज्ञानिक छैन। नदीनालाको उपयोग वैज्ञानिक छैन। यो कुरा प्रस्ट छ। यदि सबै स्रोतकोबैज्ञानिक व्यवस्थापन हुँदो हो त देशको आय बढिसकेको हुन्थ्यो। देश प्रणालीमा चलेको हुन्थ्यो। यति मात्र होइन यसका साथसाथै समाज सञ्चालन पनि वैज्ञानिक हुन सकेको कुरा देसलाई दिशा निर्देशगर्ने राजनैतिक पार्टी आफैले खेलेको फोहरी खेलले देखाउँदछ।

सङ्घीयता कार्यान्वयनको तीन चार वर्षमा नै देशको ऋण भार निकै नै बढेर गएको छ। हामी यो भन्न सक्दैनौ कि यो ऋण देशमा सूक्ष्म तथा बृहत्तर अर्थतन्त्र निर्माणको लागि खर्च भएको हो। सङ्घीयता कार्यान्वयनको लागी उहिले नै बन्नु पर्ने कानुन अझसम्म बनेको छैनन्। नेतृत्व दिने पार्टीको जनशक्ति, सरकारको तलब भत्ता खाने सम्पूर्ण जनशक्ति र विभिन्न तहका सरकारमा काम गर्नेजनसक्तिहरुमा अनिश्चितता बढाइको छ, यसले भ्रष्ट्राचार धेरथोरै मलजल गरेको छ। सपार्न नेतृत्व कसले लिने हो कसको भूमिका रहने थाहा छैन। नेतृत्व त ठुलो हुने राजनैतिक पार्टीको नै हो तर दुई तिहाइको सरकार समेत चल्न सकेन। यहाँ दोष मात्र अरूलाई दिने चलन छ। आफ्नो कमजोरी स्विकार्ने कोही होइनन् ।

समाजमा संस्कार र सामाजिक मान्यताहरू भत्कँदै जानु, तरल राजनीतिक अवस्थाले समाज नाजुक बन्दै जानु, देशमा भएका स्रोतहरूको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, भ्रष्टाचार बढ्दै जानु , शक्तिको दुरुपयोग बढ्दै जानु आदि सूचकको विश्लेषण गर्दा तत्काल स्थिति सुधारिने देखिँदैन। यो भनेको एक दुई पुस्ता पछिब्यबस्थित हुने अनुमान मात्र हो। यो सबैको मूल कारण प्रतिनिधित्व प्रजातन्त्र प्रणाली हो। प्रतिनिधित्वको लागि चाहिने भोटको धन्दा हो। त्यसैले यहि अवस्थामा नेपालमा समृद्धिको आस मात्र गर्न सकिन्छ आउने कुरामा भर पर्न सकिँदैन।

Tags :
प्रतिक्रिया दिनुहोस