स्वास्थ्यको कारण दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोब जुमा जेलमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यको कारण दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोब जुमा जेलमुक्त


२२ भाद्र २०७८, मंगलबार


जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले हिजो (सोमबार) जनाएको छ ।

डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, ‘पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेल सजाय मिनाहा गर्ने सहमति भएको छ । यस कारण जेलबाहिर रहँदा पनि उनले विशेष सर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उनी सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।’

‘यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेल सजाय भुक्तान गर्नुपर्ने हुन्छ ।’

नक्सुमालोले जुमाले पालन गर्नुपर्ने सर्तहरूबारे भने बताएनन् । उनले भने, ‘जुमाको पुनः गल्ती हुने सम्भावना कम छ ।’

अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए ।

जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

उनले थपे, ‘सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूको लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्‍याउन चाहन्छौँ । हामी सबै दक्षिण अफ्रिकीहरूलाई श्री जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस