अभिलाषाको एउटा गल्छेडाभित्र
सँगाल्दै अनगिन्ती सपनाहरू
ताल्चा मारेर
सम्पूर्ण ढोकाहरू जिन्दगीका
म
ज्यानमारा जागिर खान
निस्किएको छु ।
सडकमा
मेरा जागिरको
मूल्य सूचि देख्दिन कतै पनि
न भेट्छु कुनै भीडमा
अपनत्व मेरा जागिरको
र पनि
चुपचाप चुपचाप
जागिर खाइरहेको छु ।
मैले जागिर खाएको छु कि
मलाइ खाएको छ जागिरले
यस्तै कल्पनाको पहरामा
छिमलिरहेछु म हरपल
आफ्नै जिन्दगीलाई ।
खले गह्रो बेचेर
मेले आर्जेको योग्यता
आज सङ्कटमा छ
पसिना खर्चेर हरदम
मैले कमाएको दक्षता
थप्पडसँग साटिन पुग्छ
खद्दरको धोती बिर्सेर श्रीमतीको
मैले जोगाएको नैतिकता
बन्दी बनेको छ कारागारहरूमा ।
यस्तै
राष्ट्र र राष्ट्रियताप्रति
मैले निःसङ्कोच देखाएको
इमानदारीको बदलामा
प्रशस्त कठपुतली भाटाहरू
बर्सिएका छन् म माथि
तर पनि
बोलेको छैन मेरो जागिर
मेरो पक्षमा एक शब्द पनि ।
म
झोला बोकेरै आखिर
चुपचाप–चुपचाप
ज्यानमारा जागिर
खाइरहेको छु ।